घोराही, २५ फागुन । तपस्या कप जिल्लास्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगीताको उपाधी पद्मोदय पव्लिक नमुना माध्यमिक विद्यालय घोराहीले हात पारेको छ । सिद्धार्थ एकेडेमी घोराहीलाई २० रनले पराजित गर्दै पद्मोदयले उपाधी हात पारेको हो ।

टस हारेर व्याटिङको निम्तो पाएको पद्मोदयले निर्धारित २० ओभरको खेलमा १९.५ ओभर खेल्दै ११८ रनको योगफल तयार पारेको थियो । जसमा पद्मोदयका युवराज सुवेदीले उत्कृष्ट पारी खेल्दै ३१ रन, अभिषेख खनालले २७, शरद सुवेदी १७ र आकर्ष पाण्डेले १६ रनको योगदान दिनुभएको थियो ।

बलिङतर्फ सिद्धार्थका सुदिपकुमार ओलीले सर्वाधिक ४ विकेट, सिजन शाही र समिर रावतले समान २÷२ विकेट लिनुभएको थियो । ११९ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको सिद्धार्थले निर्धारित २० ओभरमा ८ विकेटको गुमाउँदै ९८ रनमा समेटिएको थियो ।

जसमा सुदिपकुमार ओलीले उत्कृष्ट पारी खेल्दै सर्वाधिक ४० रन जोड्नुभएको थियो । त्यस्तै शेषमणि चौधरीले २१ रन जोडे पनि अन्य व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । सिद्धार्थलाई सस्तैमा समेट्ने क्रममा पद्मोदयका सुमन दशौदीले ३, युवराज सुवेदीले २, जीवन आले मगर र शरद सुवेदीले १÷१ विकेट लिन सफल हुनुभएको थियो ।

खेलमा टिमलाई विजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने पद्मोदयमा युवराज सुवेदीलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो । यसैबीच आज विजेता टीमलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको छ । उपाधी विजेता पद्मोदयले नगद २५ हजार, ट्रफि र मेडल र उप विजेता सिद्धार्थ एकेडेमीले नगर १५ हजारसहित ट्रफ्रि र मेडल हात पारेको छ ।

त्यस्तै प्लेयर अफ द सिरिज पद्मोदयका युवराज सुवेदी, बेष्ट बलरमा शान्ति निकेतनका सन्दिप पोख्रेल, इमर्जिङ प्लेयरमा शान्ति निकेतनकै सुप्रिम रोका, वेष्ट व्याट्सम्यानका रुपमा भ्यालिटपका पछाईलाई पुरस्कृत गरिएको थियो ।

शान्ति निकेतन विद्यालयका प्रबन्ध निर्देशक सुनिल गौतमको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि उपमहानगरपालिका लागिपरेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै प्रतियोगीताका मुख्य प्रायोजक तपस्या ट्रेडर्सका प्रमुख खड्ग बुढाथोकीले जिल्लाको खेल क्षेत्रको विकासका लागि निजी क्षेत्रले गरेको लगानीलाई खेलाडीहरुले सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन र खेलकुद विकास समिति दाङका कोषाध्यक्ष कैलाश रोकाले खेलको विकास भए मात्रै अन्य क्षेत्रको विकास हुने बताउनुभयो ।

क्रिकेट संघ दाङका अध्यक्ष प्रदिप मजगैयाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण शान्ति निकेतन विद्यालयका भाइस–प्रिन्सिपल टीका बस्नेतले गर्नुभएको थियो । गत फागुन २१ गतेदेखि गुलरिया क्रिकेट मैदानमा सुरु भएको प्रतियोगीतामा जिल्लाका १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस