घोराही, ९ कार्तिक। घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ।
२०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ दाङ शाखाको सभा कक्षमा आयोजना हुने कार्यक्रममा सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा विकासप्रेमी व्यक्तिहरूबीच घोराहीको समग्र विकासका विषयमा छलफल गरिने आयोजकले जनाएको छ। कार्यक्रमको आयोजना घोराही बनाऔँ अभियानले गर्न लागेको हो। अभियानका संयोजक सविन प्रियासनले विकासका सवालमा सञ्चार क्षेत्रसँग सहकार्य र समन्वय बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभएकाे छ।
अभियानका संयोजक प्रियासनले घोराहीको विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएकाे छ । उहाँले भन्नुभयाे, “समृद्धि, विकास र सुशासन केवल सरकार वा कुनै एउटा संस्थाको प्रयासबाट सम्भव हुँदैन। यसका लागि नागरिक, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, सामाजिक अभियन्ता र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक छ। सञ्चार क्षेत्रले समाजका समस्या उजागर गर्ने मात्र होइन, सम्भावनाको खोजी गर्ने, सकारात्मक कामलाई प्रोत्साहन गर्ने र जिम्मेवार निकायलाई जवाफदेही बनाउने भूमिका पनि निर्वाह गर्नुपर्छ।”
उहाँले घोराहीका १९ वटै वडाको समानुपातिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, उद्यमशीलता, खेलकुद, कला, साहित्य, संस्कृति र सुशासनका विषयलाई प्राथमिकतामा राखेर अभियान अघि बढिरहेको बताउनुभयाे। “हामी घोराहीका समस्या र चुनौतीलाई मात्रै होइन, यहाँ रहेका सम्भावनालाई पनि उजागर गर्न चाहन्छौँ। सञ्चारकर्मीको कलमले स्थानीय उत्पादन, पर्यटन, उद्यमशीलता र विकासका अवसरलाई राष्ट्रियस्तरसम्म पुर्याउन सक्छ। त्यसैले विकासका साझा मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ,” उहाँले भन्नुभयाे।
प्रियासनले सञ्चार क्षेत्रले नागरिकका आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउँदै सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता बढाउन सहयोग गर्नुपर्ने धारणा राख्नुभयाे । विकासका योजनाको प्रभावकारी कार्यान्वयन, नागरिकका आवश्यकता पहिचान र स्थानीय सम्भावनाको उपयोगमा सञ्चार क्षेत्रको रचनात्मक भूमिकाले महत्त्वपूर्ण योगदान पुर्याउने उहाँकाे भनाइ छ ।
अन्तरसंवादले घोराहीको विकासका प्राथमिकता पहिचान गर्न, सञ्चार क्षेत्र र सामाजिक अभियानबीच सहकार्य विस्तार गर्न तथा सुशासन प्रवर्द्धनका लागि साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
घोराही बनाऔँ अभियानले समृद्ध, व्यवस्थित र सुशासित घोराही निर्माणका लागि विभिन्न क्षेत्रका व्यक्तित्वसँग संवाद र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।











