दाङ, ३० असोज । दाङको घोराही उपमहानगरपालिका– १० स्थित मानव सेवा आश्रममा मानसिक स्वास्थ्य तथा अर्थोपेडिकसम्बन्धी स्वास्थ्य शिविर भएको छ । त्रिभुवननगर जेसीजको आयोजनामा भएको शिविरमा ४२ जनाले सेवा लिएका छन् ।
जेसीजको सप्ताहव्यापी स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत पाँचौँ कार्यक्रमका रूपमा आश्रममा रहेका ४२ जनाको स्वास्थ्य परिक्षण गरिएको त्रिभुवननगर जेसीज घोराहीका अध्यक्ष मिनराज भाटले जानकारी दिनुभएकाे छ। अध्यक्ष भाटले संस्थाले सञ्चालन गरिरहेको साताव्यापी स्वास्थ्य शिविरको उद्देश्य नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु रहेको बताउनुभयाे। उहाँले मानव सेवा आश्रममा रहेका व्यक्तिहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै मानसिक स्वास्थ्य र हाडजोर्नीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराएको बताउनुभयाे।
त्रिभुवननगर जेसीज घोराहीका अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको शिविरमा अर्थोपेडिक विशेषज्ञ डा. अरविन्द पोखरेल र मानसिक रोग विशेषज्ञ डा. सुबोध शर्मालगायतका स्वास्थ्यकर्मीले आश्रममा आश्रित व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुभएकाे थियाे । नेशनल प्याथ ल्याबका सागर योगीलगायतको टोलीले रक्तचाप, मधुमेह (सुगर) लगायतका स्वास्थ्य परीक्षण गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सविन प्रियासनले मानव सेवा आश्रममा आश्रित नागरिकको स्वास्थ्य सेवामा सहयोग गर्नु मानवीय दायित्व भएको बताउनुभयाे । उहाँले स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै आर्थिक अवस्था, पारिवारिक परिस्थिति वा अन्य कारणले कोही पनि उपचारबाट वञ्चित हुन नहुने बताउनुभयाे । कार्यक्रममा मानव सेवा आश्रमकी प्रमुख सुस्मिता श्रेष्ठले आश्रममा रहेका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा उपचारका लागि शिविर आयोजना गरेकोमा त्रिभुवननगर जेसीज सहभागी स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रम संयोजक मिलन गौतमको स्वागत मन्तव्यबाट सुरु भएको शिविरको सञ्चलन महासचिव बाबुराम पाण्डेयले गरेका थिए ।











