डोल्पा धो, १० मंसिर । माथिल्लो डोल्पाका नागरिकलाई घरदैलो नजिकबाट प्रशासनिक सेवा पुर्याउने उद्देश्यले डोल्पोबुद्ध गाउँपालिकाको मुकाम धोमा इलाका प्रशासन कार्यालय स्थापना भएको छ ।
जिल्ला सदरमुकाम दुनैबाट ४२ कोष टाढा रहेको धोमा कार्यालय स्थापना भएसँगै माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्का ताङसोङ गाउँपालिकाका नागरिक लाभान्वित भएका छन् । नेपाल सरकारले देशका विभिन्न २३ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अगाडि बढाएको एक वर्षपछि तीन स्थानीय तहका नागरिकको अपेक्षा पूरा भएको हो ।
कार्यालय उद्घाटन भई सेवा प्रवाह भएसँगै नागरिकता र अन्य सिफारिसकै लागि ६ देखि ७ दिन समय र २५ देखि ३० हजार रुपैयाँ खर्च गरेर सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदम बहादुर शाहीको अध्यक्षता एवं डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यालयका नायब सुब्बा उमेश पराजुलीले सञ्चालन गर्नुभएको कार्यक्रममा डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकाका जनप्रतिनिधि , कर्मचारी तथा सेवाग्राहीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले कार्यालय उद्घाटनलाई राज्यको उपस्थिति र सेवा प्रवाह माथिल्लो डोल्पाका नागरिकको घरदैलोसम्म पुगेको ऐतिहासिक दिनका रूपमा लिएको बताउनुभएको छ । दुर्गम भूगोल , लामो दूरी , यातायातको असहजता र आर्थिक कठिनाइका कारण आधारभूत प्रशासनिक सेवा लिनसमेत सास्ती खेप्दै आएका स्थानीयका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको उहाँहरूको भनाइ थियो ।
कार्यालय उद्घाटन भएकै दिन डोल्पोबुद्ध गाउँपालिकाका २ जना र शे–फोक्सुण्डो गाउँपालिकाका १ जना गरी ३ जना नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।











