घोराही, २९ कार्तिक । घोराही नामको उत्पत्तिसँग घोडाको सम्बन्ध जोडिएको विभिन्न किंवदन्तीहरू प्रचलनमा छन्। परापूर्वकालमा यस क्षेत्रमा घोडामार्फत आवतजावत गर्ने र घोडाहरूको बढी प्रयोग हुने भएकाले घोराही नाम रहन गएको भन्ने जनविश्वास छ। यही ऐतिहासिक र सांस्कृतिक पहिचानलाई पर्यटनसँग जोड्ने उद्देश्यले अब घोराहीदेखि घोरदौरासम्म घोडा सवारी सञ्चालन गर्ने तयारी गरिएको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा पर्ने घोरदौरा गाउँको नामसँग पनि घोडाको इतिहास जोडिएको स्थानीय किंवदन्ती छ। परापूर्वकालमा घोडामार्फत बढी आवतजावत हुने भएकाले यस ठाउँको नाम घोरदौरा रहन गएको बताइन्छ। घोराही बजार क्षेत्रबाट करिब ६ किलोमिटर उत्तरतर्फ रहेको घोरदौरा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

घोरदौरा डाँडामा पछिल्लो समय पर्यटकको आवागमन बढ्दै गएको छ। यहाँ रिसोर्ट, नाइट क्याम्प, जिपलाइनिङलगायत पर्यटकलाई आकर्षित गर्ने गतिविधिहरू अगाडि बढिरहेका छन्। प्राकृतिक सौन्दर्य, शान्त वातावरण र पहाडी भूगोलका कारण घोरदौरा घुमफिर तथा रात बिताउन चाहनेहरूका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

यही सम्भावनालाई थप विस्तार गर्ने उद्देश्यले घोराही बनाऔँ अभियानका उपसंयोजक केशरमान बुढाथोकीले घोरदौरा टोल विकास संस्थासँग समन्वय गरेर घोराही बजारदेखि घोरदौरासम्म घोडा सवारी सञ्चालन गर्ने तयारी गर्नुभएको हो।

बुढाथोकीका अनुसार प्रारम्भिक चरणमा करिब ६ वटा घोडामार्फत पर्यटकलाई घोराहीदेखि घोरदौरासम्म घोडा चढेर यात्रा गर्न सकिने व्यवस्था मिलाउने योजना बनाइएको छ। यसका लागि आवश्यक तयारी तथा स्थानीयस्तरमा समन्वयको काम अगाडि बढाइनेछ।

उहाँले भन्नुभयो, “घोराही र घोरदौरा दुवै ठाउँको नामसँग घोडाको इतिहास जोडिएको छ। त्यसैले नामअनुसारको काम पनि हुनुपर्छ भन्ने हाम्रो सोच हो। घोराहीबाट घोडदौरासम्म घोडा सवारीको व्यवस्था गर्न सकियो भने पर्यटकले नयाँ अनुभव लिन पाउनेछन्। यसले घोडदौराको पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा रोजगारी र आम्दानीको अवसर पनि सिर्जना गर्न सक्छ।”

यस अभियानलाई घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासनले पनि समर्थन गर्नुभएको छ। उहाँले घोराहीको ऐतिहासिक पहिचान, स्थानीय मौलिकता र पर्यटनको सम्भावनालाई एकै ठाउँमा जोडेर नयाँ गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको छ।

घोराही बनाऔँ अभियानका संयोजक प्रियासनको भनाइमा पर्यटन विकासका लागि ठूला संरचना निर्माण गर्नु मात्रै पर्याप्त हुँदैन। स्थानीय इतिहास, संस्कृति, प्राकृतिक सम्पदा र मौलिक पहिचानलाई पर्यटकीय गतिविधिसँग जोड्न सके पनि पर्यटक आकर्षित गर्न सकिन्छ।

घोरदौरामा पर्यटकको सङ्ख्या बढ्दै गए पनि त्यहाँ पुग्ने सडकको अवस्था अझै सुधार गर्नुपर्ने देखिन्छ। विशेषगरी बर्खायाममा कच्ची सडकका कारण सवारीसाधनमार्फत आवतजावत गर्न कठिनाइ हुने गरेको छ। त्यसैले सडक स्तरोन्नतिसँगै पैदल यात्रा र घोडा सवारीजस्ता वैकल्पिक पर्यटकीय गतिविधिलाई पनि व्यवस्थित गर्नुपर्ने आवश्यकता छ।

घोडा सवारी सञ्चालनको योजना कार्यान्वयनमा आएमा घोराहीको नामसँग जोडिएको ऐतिहासिक किंवदन्तीलाई पर्यटनसँग जोड्ने एउटा नयाँ प्रयास हुनेछ। यसले घोराहीदेखि घोरदौरासम्मको यात्रालाई थप रोचक बनाउनुका साथै स्थानीय संस्कृति, पहिचान, व्यवसाय र रोजगारीका अवसर विस्तारमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नाममा घोडा, पहिचानमा इतिहास र सम्भावनामा पर्यटनलाई जोड्दै घोराहीले घोरदौरामार्फत नयाँ पर्यटकीय अभ्यास सुरु गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस