घाेराही, २८ कार्तिक । घाेराहीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबार साँझ घोराही उपमहानगरपालिका-१८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले खानतलासी गर्दा जुवाखालबाट ४ लाख ८ हजार १ सय २० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरेको थियो ।
उक्त स्थानबाट ९ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा घोराही -१४ का नवलसिंह डाँगी, घोराही-१३ का निमबहादुर भण्डारी र माडी गाउँपालिका-३ का तुलबहादुर खड्का, रामकृष्ण खड्का, घोराही-१८ का बसन्त बुढाथोकी, घोराही-१४ का यदुनाथ पाण्डे, घोराही-१० का हिमराज केसी, घोराही-१४ का निमेश भण्डारी र नयाँबजारका ४१ वर्षीय चन्द्रदेव बुढा पक्राउ परेका छन् ।
यस्तै, घोराही उपमहानगरपालिका-१५ का भुपबहादुर डाँगीको घरमा पनि प्रहरीले छापा मारेको थियो । पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो । उक्त स्थानबाट १ लाख ४ हजार ५ सय ८० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा घोराही-१५ का केशरबहादुर पछाई, भुपबहादुर डाँगी, लुमासिंह बस्नेत, निमबहादुर पुन र गिरीराज केसी रहेका छन् । त्यसैगरी, घोराही-१४ का ओबिन्द्र महरा, घोराही-१६ का तारा डाँगी र रुन्टीगढी गाउँपालिका-५ राेल्पाका हिरालाल रावत पनि पक्राउ परेका छन् ।
दुवै स्थानबाट प्रहरीले कुल ५ लाख १२ हजार ७ सय रुपैयाँ नगद र ६ गड्डी तास बरामद गरेको छ । पक्राउ परेका सबै १७ जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











