दाङ, २८ कार्तिक । दाङमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबार साँझ घोराही उपमहानगरपालिका-१८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले खानतलासी गर्दा जुवाखालबाट ४ लाख ८ हजार १ सय २० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरेको थियो । उक्त स्थानबाट ९ जना पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१४ स्वर्गद्वारी टोलका ४८ वर्षीय नवलसिंह डाँगी, घोराही-१३ डुमरगाउँ बस्ने रोल्पाको माडी गाउँपालिका-४ तालाबाङका ४३ वर्षीय निमबहादुर भण्डारी र माडी गाउँपालिका-३ तालाबाङका ४३ वर्षीय तुलबहादुर खड्का रहेका छन् ।
त्यसैगरी, रोल्पाको माडी गाउँपालिका-४ तालाबाङ स्थायी ठेगाना भई हाल घोराही-१४ जनचेतना टोलमा बस्ने ३५ वर्षीय रामकृष्ण खड्का, घोराही-१८ नवलपुरका ४७ वर्षीय घरधनी बसन्त बुढाथोकी, घोराही-१४ का ४० वर्षीय यदुनाथ पाण्डे, घोराही-१० नारायणपुर स्थायी ठेगाना भई हाल वडा नं. १५ बस्ने ४० वर्षीय हिमराज केसी, घोराही-१४ का ३५ वर्षीय निमेश भण्डारी र नयाँबजारका ४१ वर्षीय चन्द्रदेव बुढा पक्राउ परेका छन् ।
यस्तै, घोराही उपमहानगरपालिका-१५ जानकी टोलस्थित भुपबहादुर डाँगीको घरमा पनि प्रहरीले छापा मारेको थियो । पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो । उक्त स्थानबाट १ लाख ४ हजार ५ सय ८० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
दोस्रो घटनामा पक्राउ पर्नेमा घोराही-१५ जानकी टोलका ६० वर्षीय केशरबहादुर पछाई, ६८ वर्षीय घरधनी भुपबहादुर डाँगी, ६४ वर्षीय लुमासिंह बस्नेत, ६५ वर्षीय निमबहादुर पुन र ५२ वर्षीय गिरीराज केसी रहेका छन् ।
त्यसैगरी, घोराही-१४ का ५३ वर्षीय ओबिन्द्र महरा, घोराही-१६ का ४७ वर्षीय तारा डाँगी र रोल्पाको रुन्टीगढी गाउँपालिका-५ का ३९ वर्षीय हिरालाल रावत पनि पक्राउ परेका छन् ।
दुवै स्थानबाट प्रहरीले कुल ५ लाख १२ हजार ७ सय रुपैयाँ नगद र ६ गड्डी तास बरामद गरेको छ । पक्राउ परेका सबै १७ जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











