घोराही, २९ फागुन । सरकारले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई दिएको यातायात तथा स्वास्थ्य उपचार छुट कार्यान्वयनमा फितलो देखिएको छ । घोराही उपमहानगरपालिका महिला बालकालिका तथा सामाजिक विकास शाखाले बुधबार सरोकारवालाहरु सँग गरेको छलफल कार्यक्रममा यातायात र उपचार छुटमा कार्यान्वयन फितलो भएको गुनासो उठेको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक नगर स्तरीय श्रोत समुहका अध्यक्ष पद्मप्रसाद शर्माले राज्यले दिएको र कानुनमा भएको छुटलाई सेवा प्रदायक निकायले कार्यान्वयन गर्न चासो नदेखाएको बताउनुभयो ।जेष्ठ नागरिकहरुलाई यातायात र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरे पनि सम्बन्धित निकायले कार्यान्वयन नगरेको उहाँले बताउनुभयो । विभिन्न समयमा बहस हुने भए पनि कार्यान्वयन गर्ने निकायले गम्भिरताका साथ नलिदा राज्यले सम्मानका लागि दिएका छुट बोलिमा मात्रै सिमित भएको जेष्ठ नागरिकहरुले गुनासो गर्नुभयो ।

छलफल कार्यक्रममा राप्ती अञ्चल सार्वजनिक यातायात समिति, जलजला समिति, र अम्बिकेश्वरी यातायात समितिले भने आफुहरुले परिचय पत्रका आधारमा छुट दिदै आएको बताएका छन् । त्यसैगरी, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपनिर्देशक डा. बसन्त लामिछानेले प्रकृया पुरा गरेर आएका विरामीहरुलाई राज्यले दिएको छुट अनुसार नै सेवा दिएको दावी गर्नुभयो । जेष्ठ नागरिकहरुले सेवा दिदा पनि सहज नभएको र झन्जटीलो प्रकृयाले आफुहरुलाई थप अप्ठेरोमा पार्ने गरिएको गुनासो गरेका छन् ।

शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले सहजिकरण गर्नुभएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सरकार सँगको समन्वयमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई दिईने सेवा छुटमा अनिवार्य कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।सेवा शूल्कमा छुट सँगै यातायातमा दिईने आरक्षणका सिटहरुको सदुपयोग गर्न पनि सुझाब दिनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस