घोराही, १ चैत्र । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताउनुभएको छ । गुणस्तरीय बस्तु र सेवामा उपभोक्ताको अधिकारी हामी सबैको सरोकार भन्ने नाराका लागि आज घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १८ ले आयोजना गरेको अन्तराष्ट्रिय उपभोक्ता दिवस कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले उपभोक्ताहरुलाई सचेत बन्न आग्रह गर्नुभएको हो ।
सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण हुने गरी काम गनुपर्नेमा जोड दिनुभयो । उत्पादनलाई विषादी रहित र व्यवसायीहरुले मिसावट रहित बनाउनु पर्ने बताउनुभयो ।
किरा मार्ने र धेरै फलाउने नाममा बिषादी छर्केर मानव स्वास्थ्यमा गम्भिर असर गरिरहेको प्रति उपभोक्ता र उत्पादनकर्ताले सचेत हुनुपर्ने बताउनुभयो । गुणस्तरीय बस्तु उत्पादन र बिक्रि गरेर आर्थिक आर्जन गर्न सकिने भन्दै उहाँले छिटो र धेरै कमाउने नाममा स्वास्थ्यलाई जोखिममा पार्न नहुने तर्फ सचेत समेत गराउनुभयो ।
वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका कमल गौतम, रझेना टोल विकास संस्थाका सचिब किरा रेग्मी, गिठेपानी टोलका सचिब मात्रीका पाण्डे, भाडा व्यवसायी मधु अधिकारीले बस्तुहरुको गुणस्तर जाँचका लागि स्थानिय सरकारले प्रबिधी ल्याउनु पर्ने र अनुगमलाई प्रभावकारी बनाउन माग गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर १४ र १८ का टोल विकास संस्थाका पदाधिकारीहरुलाई सहभागि गराईएको थियो । कार्यक्रमको सहजिकरण वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीले गर्नुभएको थियो ।

