घोराही, १३ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १६ लाई बालमैत्री वडा बनाउनका लागि पहिलो चरणको क्रियाकलाप सुरु भएको छ । उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखा र वडा कार्यालयको कार्यक्रम मार्फत वडालाई बालमैत्री बनाउने पहिलो चरणको क्रियाकलाप सुरु भएको हो ।

वडालाई बालमैत्री बनाउन सामाजिक क्षेत्रका सबै निकायका प्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने काम सुरुभएको छ । अभिभावक, बालबालिका, जनप्रतिनिधि, आमा समूह, राजनीतिक दल, शिक्षक, बुद्धिजिवी, स्वयंसेविका, टोल विकास संस्थाका प्रतिनिधिहरुलाई बालमैत्रीका सूचकहरुका बारेमा अभिमुखीकरण कार्यक्रम सुरु गरिएको महिला बालबालिका शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले जानकारी दिनुभयो ।

गर्भावस्थादेखि नै बच्चाको अधिकार सुनिश्चित गराउन सबैलाई अभिमुखीकरण कार्यक्रम थालिएको छ । मातृशिशु स्वास्थ्यसँगै जन्मिसकेपछि बच्चाले उमेर अनुसार पाउनु पर्ने अधिकारलाई सुनिश्चित गर्न सामाजिक क्षेत्रले निभाउनु पर्ने भूमिकाका बारेमा सरोकारवालाहरुलाई प्रशिक्षण समेत थालिएको छ ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सामाजिक चेतनाको विकासले मात्रै दिगो विकास समृद्धि हुने बताउनुभयो । बच्चामा गरिने लगानी नै भोलीको सुन्दर भविष्य भएको भन्दै उहाँले भौतिक विकासका लागि पहिले सामाजिक चेतनाको विकास अपरिहार्य हुने बताउनुभयो ।

त्यसैगरी उपप्रमुख सीता सिग्देल न्यौपानेले बालमैत्री शासन व्यवस्थाका लागि सामाजिक क्षेत्रको चासो महत्वपूर्ण हुने बताउनुभयो । बाल अधिकारलाई सुरक्षित गर्दै सबैको सहयोग र समन्वयले मात्रै बालमैत्री समाज बनाउन सकिने बताउनुभयो ।

वडाका कार्यबहाक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बालमैत्री वडा बनाउनका लागि व्यहार र सोच पनि बालमैत्री बन्न आबस्यक रहेको बताउनुभयो । वडा सदस्य खिमाकुमारी घर्तीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस