घोराही, २० फागुन । महाशिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीमा सोमबार बृहत सांस्कृतिक कार्यक्रम भएको छ । हिन्दूहरुको महान् पर्व शिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्ना धारापानीमा रहेको पाण्डवेश्वर मन्दिरमा लाग्ने मेलाको अवसरमा “महाशिवरात्री विशेष सांस्कृतिक कार्यक्रम” भएको हो । वन वे फिल्मस् प्रालिको आयोजनामा भएको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक सलोन बस्नेतलगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए । नायक बस्नेतले दुईवटा गीतमा नृत्य राखेका थिए । “माया हातमा रुमाल हल्लाउँदै र हुकुम बक्सियोस्” बोलको गीतमा उनले नृत्य राखेका थिए भने गीत पनि गाएका थिए ।नेपाली लोकदोहोरी क्षेत्रकी चर्चीत गायिका शान्ति श्री परियारले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् । “बोल माया एक बचन बोल” बोलको गीत गाएर दर्शकहरुलाई रुवाएकी परियारले अन्य गीतहरुले पनि मनोरञ्जन दिलाएकी थिइन् । उनको प्रस्तुतिमा दर्शकहरु नाचेर साथ दिएका थिए । गायक तथा मोडल सन्दीप न्यौपानेले आफ्नो नयाँ गीत लालुमाई गाउँदा दर्शकहरु छमछमी नाचे । कार्यक्रममा मोडल अञ्जली अधिकारी, गायक विक्रम राना, बासुकला मैनाली, समीक्षा सेर्पाइली, पिताम्बर रिजाल, खड्ग शर्मा, डा. लोकराज पराजुली, मनोज श्रेष्ठलगायतले आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रम संयोजक विवेक बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि युवा नेता विवेक श्रेष्ठले यस्ता कार्यक्रमहरुले कलाकारहरुलाई प्रोत्साहन गर्ने बताए । उनले हरेक वर्ष शिवरात्रीको अवसरमा हुने सांस्कृतिक कार्यक्रमहरुले दंगाली नयाँ प्रतिभाहरुलाई उजागर गरेको पनि बताए । कार्यक्रमका सांस्कृतिक संयोजक सविन डाँगीको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मीहरु पिताम्बर रिजाल र प्रीति स्वर्णकारले गरेका थिए ।

मंगलवार पनि सांस्कृतिक कार्यक्रम
धारापानीमा रहेको पाण्डवेश्वर मन्दिरमा महाशिवरात्रीको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम मंगलवार पनि हुने भएको छ । मंगलवार पनि राष्ट्रिय तथा दंगाली कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । मंगलवार लोकदोहोरी गायिका रुपा घर्तीमगर, मोडल विनु खड्कालगायत अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने कार्यक्रमका सांस्कृतिक संयोजक सविन डाँगीले जानकारी दिए । कार्यक्रममा उपस्थित हुनका लागि उनले सम्पूर्णमा अनुरोध पनि गरेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस