दाङ, २६ चैत । मानवअधिकारको प्रत्याभूतिका लागि कानुनको व्यवहारिक कार्यान्वयन हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । गृहमन्त्रालयले मंगलबार घोराहीमा आयोजना गरेको मानवअधिकार प्रवर्द्धनसम्बन्धी जिल्लास्तरीय अन्तरक्रियामा बोल्दै वक्ताहरुले संविधानप्रदत्त व्यवस्थाको व्यवहारिक कार्यान्वयन आजको आवस्यकता औँल्याए ।

कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले सेवाप्रदायक निकाय नागरिक अधिकारप्रति गम्भीर हुनुपर्ने बताउनुभयो । यस्तै नेकपाका जिल्ला कार्यदल सदस्य सुवास पुनले विकासका नाममा जनतामाथि रोग निम्त्याउनेजस्ता काम हुनु मानवअधिकार बिपरीत काम भएको बताउनुभयो ।

सो अवसरमा बोल्दै नेपाली काँग्रेसका जिल्ला उपसभापति कमानसिंह भारतीले मानवअधिकारको कार्यान्वयन राज्य आफैले गर्न नसकेको आरोप लगाउनुभयो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मानवअधिकारप्रति स्थानीय सरकार जिम्मेवार र गम्भीर रहेको भन्दै नागरिकका शिक्षा, स्वास्थ्यलगायतका आधारभूत अधिकारको सम्मान गर्ने खालका नीति र कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

गृहमन्त्रालयका सहसचिव पुस्कर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राजमोका जिल्ला अध्यक्ष गणेश आचार्य, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, मानवअधिकार सञ्जालका सदस्य श्रीमन् न्यौपाने, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्यलगायतले बोल्नुभएको थियो ।

सो अवसरमा मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्मा र दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जिल्लाको मानवअधिकारको अवस्थाबारे आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस