दाङ, २६ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ ले ज्येष्ठ नागरिकहरुको उपचार घर घरमै पुगेर गर्ने अभियान थालेको छ । विहीवार वडा अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएका श्याम डाँगी चिकित्सकसहितको टोली लगेर ज्येष्ठ नागरिकको उपचार गर्न ज्येष्ठ नागरिकको घर घरमा पुग्नु भएको हो । उहाँले वृद्धवृद्धाहरुलाई चेवनप्रास, नङकट, रुमाल, सावुन, ह्याडप्लासलगायतका सामग्री समेत ज्येष्ठ नागरिकलाई हस्तान्तरण गरेर अभियानको उद्घाटन गर्नुभएको हो ।
वृद्ध भएपनि एक्लै हिड्न वा आफै हिडेर औषधि उपचारमा जान पनि नसक्ने अवस्था हुन्छ वडाध्यक्ष डाँगीले भन्नुभयो,– कतै त पारिवारिक विखण्डनसमेत रहेको देखिएकाले ज्येष्ठ नागरिकको स्वास्थ्य हेर्ने र औषधि उपचार गर्ने काम स्थानीय सरकारले गर्न लागेको हो । उहाँले यो अभियान प्रत्येक महिना चल्ने समेत बताउनुभयो । १२ नं. वडाभित्र ८० वर्षमाथिका झण्डै ५० जना ज्येष्ठ नागरिक रहेको भन्दै वडा कार्यालयले उहाँहरुको नियमित स्वास्थ्य जाँच गरिने जनाएको छ ।
अभियान अन्तर्गत कपडादेवी, टरिगाउँ, गरिगै, कौवापुर, कचिला, हरिपौरा, क्वागीलगायतका थुपै टोलमा अभियान चलाइने कार्यालयले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहाललगायतको टोली ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचमा खटिएको छ ।
ज्येष्ठ नागरिक सामाजिक सुरक्षाको व्यवस्था गर्ने चुनावी प्रतिवद्धता पुरा गर्न वडा नं. १२ लागि परेको छ । विहीवार टरिगाउँका ८० वर्षीय गानु चौधरी, ९१ वर्षीय शोभाराम रेग्मीलगायत १० जनावढिको स्वास्थ्य परिक्षण गरेको छ ।












