तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), १३ जेष्ठ । राप्ती गाउँपालिकाको न्यायिक समितिको कार्य सम्पादन सहजताको लागि दुईदिने तालीम आइतबार मसुरियामा सुरु भएको छ । राप्ती गाउँपालिकाका न्यायिक समिति संयोजक, सदस्यहरु तथा वडागत रुपमा मेलमिलाप गराउँदै आएका मेलमिलापकर्ताहरुलाई तालिम दिन सुरु गरिएको हो ।
राप्ती गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक जगदम्वाकुमारी चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, वडा नं २ र ७ का वडा अध्यक्ष जगतबहादुर थापा, विद्याशरण चौधरीको विशिष्ठ आथित्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो । नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम तथ श्रेया सर्भिसका आयोजनामा तालिम आयोजना गरिएको हो ।
तालिमको प्रशिक्षकमा पूर्व सहसचिव तथा अधिवक्ता विष्णुबहादुर थापा, अधिवक्ता कुमारी खरेल रहनुभएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ का प्रमुख प्राबधान लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको राप्ती गाउँपालिका महिला तथा बालबालकिा शाखाकी सहायक महिला निरीक्षक विनिता अधिकारीले बताउनुभयो ।


