तिर्थराज ज्ञवाली

श्रीचौर (देउखुरी), २८ जेठ । राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकास्तरीय अन्तरविद्यालय प्रथम अध्यक्षकप फुटवल प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विभिन्न खेल सञ्चालन भैरहेका छन् । प्रतियोगितामा अध्यक्षकप प्रथम गाउँपालिकास्तरीय खेलमा छात्रछात्राको फुटवल खेल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्राको भलिबल, कवड्डी, एथ्लेटिक्सतर्फ १००, ४०० र १५०० मिटर दौड रहेको छ ।

प्रतियोगितामा हालसम्म उद्घाटनका अवसरमा निकालिएको मार्चपासमा आदर्श नमुना मावि लालमटिया प्रथम, मुनलाइट मावि लालमटिया दोस्रो र रिभर राप्ती बोर्डिङ स्कुल भालुवाङ तेस्रो भएका छन् ।  १५०० मिटर दौड छात्रतर्फ सर्बोदय माविका विमल परियार प्रथम, मावि मौरिघाटका गोकर्ण बस्नेत द्वितीय, आदर्श नमुना माविका सन्तोष कुमाल तृतीय भएका छन् । साथै १५०० मिटर दौड छात्रातर्फ मावि मौरिघाटकी  सिसा शाही प्रथम, दीपज्योति बोर्डिङकी मेनुका चौधरी द्वितीय, सर्बोदय माविकी सन्जु चौधरी तृतीय भएकी छन् ।

त्यस्तै ४०० मिटर दौड छात्रतर्फ मुनलाईट आमाविका जनक पोख्रेल प्रथम, सिरिन भ्यालीका मोहन बस्नेत द्वितीय र सर्बोदय माविका रमेश चौधरी तृतीय भएका छन् । ४०० मिटर दौड छात्रातर्फ ज्ञानोदय माविकी सुशीला चौधरी प्रथम, मावि मौरीघाटकी चिरिन्जीवी गिरी द्वितीय र सर्बोदय माविकी कुस्मा चौधरी तृतीय भएकी छन् ।

अध्यक्षकप प्रथम गाउँपालिकास्तरीय खेलमा छात्र छात्राको फुटवल खेल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको  १०० मिटर दौडमा छात्रतर्फ मुनलाईट आमाविका जनक पोख्रेल प्रथम, मावि मौरीघाटका अशोक घर्ती द्वितीय र दीपज्योति बोर्डिङका निरज चौधरी तृतीय भएका छन् ।

१०० मिटर दौडमा छात्रातर्फ मेनुका चौधरी, दुर्गा भवानी आमाविकी आशा चौधरी द्वितीय र सर्बोदय माविकी सञ्चीता चौधरी तृतीय भएकी छन् । मंगलवार फुटवल, कवड्डी र भलिवल खेल सञ्चालनमा आएका छन् । जसमा विहानी सत्रमा भएको छात्रा फुटवलमा  मुनलाईट माविले पब्लिक एकेडेमीलाई सुन्यका विरुद्ध १ गोलले पराजित गरेको छ  । त्यसैगरी सर्बोदय माविले  आदर्श नमुनालाई ३ गोलले पराजीत गरेको छ ।

छात्र कवड्डी तर्फ सिरिन भ्याली र शंकर माविबीच भएको खेलमा सिरिन भ्यालीले जीत हासिल गरेको छ । त्यस्तै देउखुरी भ्याली र  रिभर राप्तीबीच भएको प्रतिस्पर्धामा देउखुरी भ्यालीले जीत हासिल गरेको छ ।

विहानी सत्रमा छात्रा भलिवलमा शंकर मावि ज्ञानोदय माविसँग पराजित भएको छ साथै सर्बोदय मावि सिसहनियाँ र नेपाल राट्रिय माविबीच भएको खेलमा सर्बोदय मावि सिसहनियाँले जीत हासिल गरेको छ ।

छात्र तर्फको खेलमा शंकर मावि पिपरी सिद्धार्थ एकेडेमीसँग पराजित भएको छ । विहान र बेलुका गरी दुई चरणमा खेलाइने खेलहरुलाई रोचक र उत्साहपूर्ण बनाउन सबै विद्यालयका खेलाडी दर्शक तथा शिक्षकहरुमा अनुरोध गरिएको  छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस