फारुलाचौर, ३० असोज । दार्मा गाउँपालिका सल्यानले नेपाल सरकारको स्थायी सेवामा सिफारिस भएका ७१ जना कर्मचारीहरुलाई अभिनन्दन गरेको छ । २०७५ वैशाखदेखि हालसम्म निजामती, शिक्षा, स्वास्थ्य, सुरक्षातर्फ स्थायी रुपमा सिफारिस भएका ६ वटै वडाका नागरिकलाई बिहीबार अभिनन्दन गरिएको थियो ।कार्यक्रममा वडा नं. १ बाट १० जना, २ बाट १८ जना, ३ बाट १६ जना, ४ बाट ७ जना, ५ बाट ११ जना र वडा नं. ६ बाट ९ जना गरी जम्मा ७१ जनालाई प्रशंसापत्र, फूलमाला र अबिर लगाई अभिनन्दन गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेतले हरेक नागरिकले आफूले गरेको साधनाको प्रतिफल पाउने धारणा राख्नुभयो । नागरिकको साधनाको सम्मानस्वरुप गाउँपालिकाले कार्यक्रम गरेकोमा खुसी व्यक्त गर्दै प्रमुख अतिथि बस्नेतले यसले कर्मचारीहरुलाई प्रोत्साहन गर्नुका साथै एकता, सद्भाव एवं मित्रता ल्याउने बताउनुभयो ।

सबैथोक पैसा नै हो भन्ने धारणा गलत भएको बताउँदै उहाँले सबैभन्दा ठूलो उपलब्धि परिश्रम र मेहनतबाट प्राप्त हुने बताउनुभयो । राज्यको व्यवस्था फेरिन सक्छ तर सच्चाइ, श्रम, मेहनत कहिल्यै नफेरिने भन्दै उहाँले हरेक व्यक्ति इमान्दार हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले ठुलो मेहनतका साथ सरकारी सेवामा प्रवेश गरेकाहरुलाई गाउँपालिकाले अभिनन्दनको कार्यक्रम गरेको बताउनुभयो । कार्यक्रम परम्परागत नभई बौद्धिक क्षेत्रबाट हुने योगदानको सम्मान भएको उहाँको धारणा थियो । कार्यक्रमले नागरिकहरुमा सामीप्यताको अवसर समेत ल्याएको अध्यक्ष केसीले बताउनुभयो ।

कार्यक्रममा दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक कवँर, अभिनन्दन हुनेको तर्फबाट शिक्षक निमबहादुर केसी र पार्वती नेपालीले मन्तव्य व्यक्त गर्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख रोमप्रसाद पाण्डेयले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस