फारुलाचौर (दार्मा), २७ कार्तिक । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका पशुपंछीहरुको तथ्याङ्क सङ्कलन सुरु गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले ६ वटै वडाका घरघरमा पुगेर पशुपंछीको तथ्याङ्क लिन लागेको शाखा प्रमुख हस्तराम खड्काले जानकारी दिनुभयो । पशुपंछीको व्यावसायिक पालनलाई बढावा दिन तथा उपचार तत्काल पुर्‍याउने उद्देश्यका साथ तथ्याङ्क सङ्कलन हुन लागेको उहाँले बताउनुभयो ।

१५ दिनभित्रै गाउँपालिका सम्पूर्ण पशुपंछीको तथ्याङ्क लिइसकिने गरी गणक खटाइएको शाखा प्रमुख खड्काले बताउनुभयो । वडाबाट आएको तथ्याङ्कलाई एकीकृत गरेर गाउँपालिकाको विस्तृत विवरण तयार गरिने उहाँले बताउनुभयो । पशु पालनको अवस्था, गाई, भैंसी, बाख्रा, कुखुरा, कुकुर, खरायो आदि पशुपंछीको स्थानीय तथा उन्नत जात सबै खुल्ने गरी फाराम विकास गरेको छ । किसानहरुले प्रयोग गर्ने दाना, घाँस आदि आहाराको विवरण, खोरको अवस्था, पशुजन्य उत्पादनबाट हुने आम्दानी सहितको विवरण आउने गरी फाराम तयार गरेको छ ।

फारामबाटै गाउँपालिकाभित्र रहेका पशु प्राविधिकको विवरण समेत आउनेगरी फाराम तयार गरिएको शाखा प्रमुख खड्काले बताउनुभयो । पशुपंछीलाई व्यावसायिकरुपमा पाल्न र जनतालाई आर्थिक उपार्जनमा सहयोग पुग्नेगरी योजना बनाएर कार्यान्वयन गर्नका लागि तथ्याङ्कको आवश्यकता खड्किएको उहाँको भनाइ थियो ।

गाउँपालिकाले वडाका सम्पूर्ण वस्तुस्थितिको जानकारी लिई पशुपालनको सम्भाव्यता अध्ययन गरी व्यावसायिक पशुपालनलाई टेवा पुग्नेगरी योजना ल्याउन लागेको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो । जनताको घरमै पशु प्राविधिक पु¥याउन तथ्याङ्क सङ्कलनबाट सहयोग पुग्ने उहाँको धारणा थियो ।

गाउँपालिकाले तथ्याङ्क सङ्कलन पश्चात् उपयुक्त पशुपालनको सम्भावना भएका स्थानमा पशु समूह बनाउने, उनीहरुलाई तालिम दिने, औषधि वितरण गर्ने, प्राविधिक सहयोग, उपचार, औजार वितरण तथा बजारीकरणमा समेत सहयोग पुग्नेगरी योजना ल्याउन लागेको जनाएको छ । पशुपंछीको विस्तृत विवरण आएपछि पशुपालकको घरमै पुगी भ्याक्सिन लगाउने योजनाका साथ अगाडि बढेको शाखा प्रमुख खड्काले जानकारी दिनुभयो ।

गाउँपालिकामा हाल ५ जना पशु प्राविधिक रहेका छन् । तथ्याङ्क सङ्कलन पश्चात् किसानलाई तत्काल सेवा दिनेगरी प्राविधिकको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ । ठुलो सङ्ख्यामा व्यावसायिक रुपमा पशुपालन गर्नेलाई विशेष अनुदानको कार्यक्रम समेत गाउँपालिकाले ल्याएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस