सल्यान, १८ माघ । जनकल्याण प्राथमिक विद्यालय दार्मा–२ झ्यारिबाङले विविध कार्यक्रम गरी आफ्नो १२औँ वार्षिकोत्सव मनाएको छ । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रम विभिन्न प्रतियोगिता गरी शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरु लाग्नुपर्ने धारणा राख्नुभयो । गाउँपालिकाले यस आर्थिक वर्षलाई शैक्षिक जागरण वर्षको रुपमा अगाडि बढाएको बताउँदै उहाँले शिक्षाबाट मात्रै विकास अनि समृद्धि हासिल गर्न सकिने बताउनुभयो । बालबालिकाको जग भनेकै प्राथमिक तहको शिक्षा भएको जिकिर गर्दै उहाँले जग बलियो भए मात्रै बालबालिकाको भविष्य सुनिश्चित हुने धारणा राख्नुभयो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै कार्यक्रममा विशिष्ट अतिथि एवं दार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख रोमप्रसाद पाण्डेयले विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्तिका लागि अभिभावक सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । विद्यालयमा बालबालिकाको सामाजिक तथा बौद्धिक विकासका लागि अतिरिक्त क्रियाकलापमा समेत विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । विद्यालयमा बालबालिकाहरु रमाउँदै आउने वातावरण निर्माण गर्न सके पढाइमा उनीहरुको ध्यान केन्द्रित गर्न सकिने शाखा प्रमुख पाण्डेयले बताउनुभयो ।विद्यालयले वार्षिकोत्सवका अवसरमा विद्यालयका प्रस्तावक अध्यक्ष रिखु खत्री, संस्थापक अध्यक्ष इन्द्रु वलीलगायत चन्दादाता, पूर्व शिक्षक, पूर्व विव्यस अध्यक्ष, भूतपूर्व शिक्षक अभिभावक संघलगायतलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । साथै वार्षिकोत्सवमा आयोजित हाजिरीजवाफ, लोकनृत्य, हिसाब दौड, खुला ठाडी भाका गीत महिला तथा पुरुषतर्फ विजयी भएकाहरुलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थापक रिखु खत्री, पूर्व प्रधानाध्यापक कमलबहादुर कामी, मदन देवकोटालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवराज खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नोखीराम वलीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस