दार्मा, २३ फागुन । दार्मा गाउँपालिका सल्यानले भटेनरी जेटिए अध्ययनका क्रममा कार्यगत तालिम (ओजेटी)का लागि गाउँपालिकाको पशु शाखा आएका विद्यार्थीहरुलाई बिदाइ गरेको छ । १२ महिने सैद्धान्तिक अध्ययन पश्चात् ६ महिनाका लागि गत असोज महिनामा पशु शाखामा आएका ५ जना विद्यार्थीहरुलाई बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले सैद्धान्तिक ज्ञान लिएर प्रयोगात्मक ज्ञानका लागि आएका विद्यार्थीहरु आज पूर्णरुपमा प्राविधिक ज्ञान लिएर जान लागेको बताउँदै त्यसलाई प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । सिकेका कुराहरु व्यवहारमा ल्याउन सके मात्र त्यसको उपलब्धि हुने बताउँदै उहाँले प्राविधिक जनशक्तिले आफ्नो दक्षता प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्का, पशु सेवा शाखा प्रमुख हस्तराम खड्का, पशु प्राविधिक कर्णबहादुर बुढाथोकीलगायतले बिदाइ भएर जान लागेका विद्यार्थीहरुलाई सफल प्राविधिक जीवनको शुभकामना व्यक्त गर्नुभएको थियो । ६ महिने कार्यगत तालिममा आरती टेक्निकल इन्स्टिच्युट श्रीनगर सल्यान र प्रभात माध्यमिक विद्यालय दोपाइ रुकुम पश्चिमका विद्यार्थीहरु सहभागी थिए ।

कार्यक्रममा कार्यगत तालिम सकेर जान लागेका संगीता देवकोटा, शोभा शाही, टीका देवकोटा, टोपबहादुर देवकोटा, सुनिता वलीले कार्यगत तालिममा गाउँपालिका तथा पशु सेवा शाखाबाट प्रयोगात्मक ज्ञान हासिल गर्न पाएकोमा धन्यवाद ज्ञापन गरेका थिए । तथ्याङ्क सङ्कलनका क्रममा फिल्डको अनुभवका साथै रोग पहिचान एवं उपचार विधिबारे आफूहरुले धेरै कुरा सिकेको उनीहरुको भनाइ थियो । कार्यक्रमको सञ्चालन पशु प्राविधिक डिल्ली वलीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस