तिर्थराज ज्ञवाली

मसुरीया(देउखुरी दाङ), २९ भदौ । राप्ती गाँउपालिकाले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी ५७ औँ राष्ट्रिय बाल दिवस मनाएको छ । ‘सामान्य अवस्था वा कोभिड महामारी, बालअधिकार संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी दिवस मनाइएको हो ।

बालबालिकाको क्षमता अभिबृद्धि, बाल सहभागिता, बाल संरक्षण तथा बाल विकासका लागि राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बाल दिवसको अवसर पारेर माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।

राप्ती गाउँपालिका सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

बाल दिवसको अवसरमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले संविधानमा बालबालिकाको हकका लागि गरिएको व्यवस्था, बालबालिका सम्बन्धी ऐन, राष्ट्रिय नीति र बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय कानुनअनुसार बालबालिकाको सर्वाङ्गीण विकासका लागि काम गरिएको बताउनुभएको छ । अध्यक्ष सुवेदीले विभिन्न खालका दैवीप्रकोप, महामारीमा बालबालिकाको सुरक्षाको लागि स्थानीय सरकार लागिपरेको बताउँदै सरकारले बिपद्मा आइपर्ने जोखिमबाट बालबालिकालाई सोचे जति सुरक्षित गर्ने कार्यको उपलब्धि हासिल गर्न कार्ययोजना बन्दै गएको बताउनुभएको छ ।पछिल्लो समयमा बालबालिका कोभिड–१९ बाट सङ्क्रमित मात्र भइरहेका छैनन् उनीहरू यस महामारीबाट अत्यन्त प्रभावित भएको अवस्था र बाल दिवसको राष्ट्रिय नारालाई समेटी बालबालिकामा पार्ने प्रभाव न्युनीकरणको सम्बोधन गर्न अग्रसरता जगाउने उद्देश्यका साथ आयोजित वक्तृत्वकला प्रतियोगितामा माध्यामिक विद्यालयका १० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

राप्तीगाउँपालिका क्षेत्रका माध्यामिक विद्यालयका विद्यार्थी हेमन्त गिरी, ताराप्रसाद शर्मा, विवेक चौधरी, खेमा पौडेल, सञ्चिता भुसाल, रमेश सुन्दास, सृष्टि चौधरी, तृसना झाँक्री मगरलगायतले वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउनु भएको थियो ।

प्रतियोगितामा शंकर माध्यामिक विद्यालय पिपरीका रमेश सुन्दास प्रथम, आदर्श नमुना माध्यामिक विद्यालय लालमटियाका निरज केसी द्वितीय र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भालुवाङका प्रदीप घर्तीले तृतीय स्थान हासिल गर्नुभएको छ । विजयी छात्र छात्रालाई बाल दिवसको अवसरमा पुरस्कार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस