स्थानीय तह निर्वाचन मिति नजिकीदैछ । राजनीतिक दलहरु चुनावी मैदानमा छन । उम्मेदवारहरु मतदाता भेट्न घरदैलोमा छन । आफना योजना, प्रतिवद्धता सुनाउँदै मत माग्ने क्रम जारी छ । यसैसन्दर्भमा नेकपा एमालेको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार टिकाराम खड्कासँग युगबोधकर्मी जे.एन.सागरले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ । सम्पादक ।

चुनावी तयारी कस्तो छ ?
निर्वाचनको तयारी तीव्र पारिएको छ । हरेक दिन विहानैदेखि रातिसम्म दर्जनौ सभा, कार्यक्रम र व्यक्तिगत भेटघाटलाई तिव्र बनाएका छौं । चुनावी गर्मी चढिसकेको छ । उपमहानगरको १९ वटै वडामा घरदैलो चलिरहेका छन । १ लाख ७ हजार मतदातालाई कुनै न कुनै माध्यमबाट भेट्ने अभियानमा हामी छौं ।

तपाईको उम्मेदवारी किन ?
तुलसीपुरको समग्र विकास गर्दै उपमहानगरको मुहार फेर्ने जिम्मेवारी वहन गर्न मेरो उम्मेदवारी हो । तुलसीपुरलाई शिक्षा र स्वास्थ्यको हवका रुपमा विकास गरिएको छ । प्राविधिक धारका युग सुहाउँदा प्रयाप्त शैक्षिक कार्यक्रम सुरु भइसकेका छन । यसलाई थप प्रकावकारी बनाउँदै बाँकी जनपक्षिय काम गर्न हाम्रो उम्मेदवारी हो ।

बाँकी काम भन्नाले ?
पहिलो काम सुकुम्वासीलाई जग्गाधनी पुर्जा उपलव्ध गराउने हो । किसान र भूमिहिनहरुलाई जग्गाको मालिक बनाउने एमालेको अभियानमा अवरोध सिर्जना गरिएको छ । ०५१ मै जग्गा धनी पुर्जा दिएर एमालले काम गरेरै देखाएको छ । सुकुम्वासी, भुमिहिन किसानलाई पुर्जा दिने काम गर्नेछौं । किनभने म स्वयं सुकुम्वासी हुँ । त्यसको पीडा मलाई अझै धेरै थाहा छ त्यो समस्या समाधान गर्ने पहिलो प्राथमिकता हो । अर्को एक घर एक धारा पु¥याउने र त्यसका लागि खानेपानी आयोजना निर्माण, व्यवस्थापनको काम गर्ने, तार केवलका कारण तुलसीपुर अस्तव्यस्त देखिन्छ ।

भुमिगतरुपमा केवल विस्तार गरेर हराभरा शहर निर्माण गर्ने, सार्वजनिक जमिनको संरक्षण गर्दै कृषिलाई आधुनिकीकरण गर्ने, कृषिलाई यान्त्रिकीकरण, व्यवसायीकरण गर्दै कृषिजन्य उत्पादनको बजारीकरण गर्ने, चिस्यान केन्द्र निर्माण, कृषिमा अनुदानको व्यवस्थापन, ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ठूलो युवा जनशक्तिको सदुपयोग गर्ने र उनीहरुलाई स्वरोजगारमा जोड्ने, गरिव र विपन्न परिवारलाई निःशुल्क उपचार सेवा, तुलसीपुरमै सञ्चालित मेट्रो अस्पतालबाटै विशेषज्ञ सेवा दिएर उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्नेछौं ।

यसैगरी आइटीको जमाना छ । विभिन्न प्रविधिलाई सदुपयोग गर्दै उपमहानगरलाई डिजिटलाइज्ड गर्ने, ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता पु¥याउने, संघ, प्रदेश र स्थानीय तहबाट निर्माण भएका कच्ची सडकलाई कालोपत्रे गर्ने, सुकौराकोट, छिल्लीकोटजस्ता पर्यटकिय क्षेत्र र मन्दिर,गुम्वा, मस्जिद, चर्चहरुको संरक्षण गर्दै तुलसीपुरलाई सबै जाति, भाषा, धर्मको साझा फूलवारीकोरुपमा स्थापित गर्ने काम हामीले गर्नेछौं ।

तर यी काम गर्ने ठाउँमा पुग्न त गठवन्धनको चूनौति होला फेरि ?
राजनीति भनेकै चूनौतिपूर्ण हुन्छ । मैले जन्मेदेखि नै ठूलठूला चूनौतिको सामना गर्दै यहाँसम्म आइपुगेको छु । डेढ वर्ष हुँदा आमा गुमाए, १४ वर्ष हुँदा बुवा गुमाएर एक्लो बनेको म आज संघर्ष, चूनौतिको सामना गर्दै यहाँसम्म आइपुगेको छु । हरेक प्रतिकुलतामा रमाउन जानेरै यहाँ आइपुगेको हुँ । हरेक अप्ठेरोमा उभिनसक्छु । म गठवन्धनसँगै लडेर पहिलो बन्नेछु । गठवन्धन जतिसुकै होउन, तुलसीपुरका जनता टिकारमकै पक्षमा हुनुहुन्छ ।

जित्ने आधार के हुन त उसो भए ?
आधार भनेको जनताको विश्वास हो । पहिलो कुरा म जमिनदारसँग चुनाव लड्दैछु । नेपाली काँग्रेसको नेता जसले आफ्नै जमिन बाँझो राखेर अस्तव्यस्त राख्नु भएको छ । तर म सुकुम्वासी, भुमिहिन मान्छे हुँ । म पञ्चायतको विरुद्ध लडे, लोकतन्त्रको पक्षमा लडे, गणतन्त्र प्राप्तिका लागि लडे, ४३ वर्षको मेरो संघर्ष आम मतदाताले चिन्नु भएको छ । देख्नु भएको छ । मैले चिनाउनै पर्दैन । समाजका हरेक वर्ग, समुदायले मेरो व्यवहार महसुस गर्नुभएको छ । मैले कसैसँग रिसाउन जानेन, यो फरक विचारको भनेर कहिल्यै छुट्याइन, कसैलाई विभेद गरेन, फरक विचार राख्नेहरुसँग पनि हातेमालो गरेर जिल्लाको विकासका लागि काम गरेको छु । मैले थुप्रै चुनावको नेतृत्व गरेर पछिल्ला दिनमा नेकपा एमालेलाई ठूलो पार्टीकारुपमा स्थापित गराए । धेरैलाई मैले नेतृत्वमा स्थापित गरे । यस अघि पनि नेपाली काँग्रेसलगायत पार्टीसँग चुनाव लडेकै हो । अहिले पनि उनै त हुन । अझ भन्ने हो भने मेरो प्रतिष्पर्धा जनताले मौका दिएर परिक्षण गरिसकेका हुनुहुन्छ । देखिसक्नु भएको छ । त्यसैले म पहिलो हुनेमा शंका छैन । जनताको विश्वासलाई शिरोपर गरेर सुन्दर शहर निर्माण, सुशासनयुक्त प्रशासन, भ्रष्टाचारमुक्त उपमहानगर बनाउनेछु ।

साभारः नयाँ युगबोध राष्ट्रिय दैनिक

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस