दाङ, १५ पुस । त्रिभुवननगर जेसीजले मावि सौंडियारमा पुस्तकालय स्थापना गरेको छ । त्रिभुवननगर जेसीजको नेतृत्वका लागि अध्ययन कार्यक्रम अन्तर्गत घोराही ७ को मावि सौंडियारमा पुस्तकालय स्थापना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले पुस्तकालयले पठन क्रियाकलापमा बृद्धि गर्नुका साथै विद्यार्थीहरुको नेतृत्व विकासमा सहयोग पुग्ने बताउनुभयो ।
त्रिभुवननगर जेसीजले हरेक वर्ष घोराही उपमहानगरपालिका भित्रको विद्यालयमा पुस्तकालयका लागि सामग्री उपलब्ध गराउँदै आएको अध्यक्ष विवेक आचार्यले जानकारी दिनुभयो । जेसीजले पुस्तकालय स्थापना कार्यक्रम अन्तर्गत अफिस दराज, विभिन्न पुस्तकहरु, खेलकुद सामग्री हस्तान्तरण गरेको थियो ।
विद्यालयद्वारा सञ्चालन हुनेगरी अक्षयकोष स्थापना गरी सोबाट आउने ब्याजबापतको रकमबाट हरेक वर्ष थप पुस्तकहरु किन्ने गरी ५० हजार रुपैयाँको अक्षयकोष समेत विद्यालयमा स्थापना गरिने संयोजक गौतमले जानकारी दिनुभयो ।
कार्यक्रमको अध्यक्षता त्रिभुवननगर जेसीजका अध्यक्ष विवेक आचार्यले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव कुलबहादुर वलीले गर्नुभएको थियो ।













