घोराही, १२ माघ ।
घोराही उपमहानगरपालिका वडा नं. १२ हापुरस्थित सनराइज एकेडेमीको १४ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।

वार्षिकोत्सवका अवसरमा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दले निजी विद्यालयले शैक्षिक गुणस्तर वृद्धिमा महत्वपुर्ण भूमिका निर्वाह गरेको जिकिर गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चन्दले निजी विद्यालयहरुले विद्यार्थीहरुलाई जीवन उपयोगी तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि वडा नं. १२ का वडा अध्यक्ष द्रोण बहकरीले विद्यार्थीहरुको थप शैक्षिक सुधारमा विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकहरुले अभिभावकीय भूमिका निभाउन आग्रह गर्नुभयो । बालबालिकाहरुको अभिरुचिप्रति शिक्षक तथा अभिभावकहरु गम्भीर हुनुपर्नेमा अध्यक्ष बहकरीले जोड दिनुभयो ।

विद्यालयका शैक्षिक विभाग प्रमुख चुडामणि बिकको अध्यक्षता एवम् प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दको प्रमुख आतिथ्यतामा आयोजित वार्षिकोत्सवमा विद्यालयका प्रिन्सिपल टीकाराम केसीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले विज्ञान, सामाजिक, कम्प्युटरलगायतका विभिन्न विषयको परियोजना कार्यहरुको प्रदर्शनीका साथै सांस्कृतिक प्रस्तुतिहरु देखाएका थिए । सो अवसरमा खेलकुद सप्ताह अवधिभर सर्वाधिक पदक हासिल गर्ने ग्रिन हाउसलाई हाउस अफ द यअरले सम्मान गरिएको थियो भने ब्लु हाउसलाई फस्ट रनर अपको उपाधि प्रदान गरिएको थियो ।

विद्यालयका शिक्षक पुरण घर्तीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन शिक्षकद्वय नारायण शाक्य र अनामिका शाक्यले गर्नुभएको थियो ।

खेलकुद सप्ताहमा रक्तदान
माघ ४ गतेदेखि १० गते बिहीबारसम्म साताव्यापी खेलकुद सप्ताह सञ्चालन गरेको सनराइज एकेडेमीले विविध कार्यक्रमसहित आफ्नो १४ औं वार्षिकोत्सब शुक्रबार सम्पन्न गरेकोछ । विद्यालयले खेलकुद सप्ताह अन्तर्गत बिहीबार रक्तदान गरेको थियो । रक्तदान कार्यक्रममा शिक्षक, कर्मचारी तथा अभिभावक गरि १४ जनाले रक्तदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस