सल्यान, २२ फागुन । सल्यानमा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को नतिजालाई लिएर विवाद उत्पन्न भएको छ । दार्मा गाउँपालिकाका खेलाडीहरूले विभिन्न खेलतर्फ ६ स्वर्ण, ११ रजत, ११ काश्यसहित २८ वटा पदक जितेको दाबी गरे पनि जिल्ला खेलकुद विकास समितिले प्रकाशन गरेको नतिजामा दार्मा गाउँपालिकाका खेलाडीहरूको नतिजामा टिपेक्स लगाएर शून्य देखाएर नतिजा सार्वजनिक गरेपछि गाउँपालिकाले आपत्ति जनाएको हो ।

दार्मा गाउँपालिकाका खेलकुद विकास समिति अध्यक्ष पुष्पाञ्जली मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-“आधिकारिक धारणा जिल्ला खेलकूद विकास समितिसँग माग गर्दा आधिकारिक धारणा दिनुको सट्टा जिल्ला खेलकुद विकास समितिका अध्यक्षले सिङ्गो पालिकालाई आघात पुग्नेगरी कपोलकल्पित र निराधार आरोप लगाउँदै आफ्नो अपुष्ट वक्तव्य जारी गरिएको प्रति हाम्रो गम्भीर आपत्ती रहेको छ । दार्मा गाउँपालिकाप्रति लगाएको आरोप तथा खेलको नतिजा केरमेट गरिएको गैरजिम्मेवारी कार्यलाई यथाशीघ्र क्षमायाचना गर्दै जिल्ला खेलकूद विकास समितिको आधिकारिक लेटरप्याडमा पालिकाले हासिल गरेको यथार्थ नतिजा प्रकाशन गर्न जोडदार माग गर्दछौँ ।” साथै विज्ञप्तिमा आफ्ना कुराहरुलाई वेवास्ता गरेमा आगामी दिनमा सिर्जना हुने परिणामको जवाफदेही सम्बन्धित खेलकुद विकास समिति रहने चेतावनी दिइएको छ ।

टिपेक्स लगाएर नतिजा सार्वजनिक गरिएपछि दार्मा गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति र दार्मा खेलकूद विकास समितिको पूर्ण बैठक बसी यसबारेमा निर्णय लिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो ।

बैठकले गरेका निर्णयहरुः

१) जिल्लास्तरीय रनिङ शील्डको समीक्षा गरियो।

२) एकातिर उजुरी छानबिन भइरहेको भन्ने र अर्कोतिर रनिङ शील्ड प्रदान गर्दै नतिजा घोषणा गर्ने काम अन्तरविरोधी भएको छ, उजुरीहरुको छानबिन गरेर मात्रै नतिजा सार्वजनिक गरिनुपर्छ।

३) जिल्ला खेलकुद समिति अध्यक्षको हस्ताक्षर र सहीछाप भएको माइन्युटमा दार्माको नतिजामा केरमेट गरेर जिरो किन लेखियो र यसलाई सार्वजनिक गरेर दार्माको अपमान किन गरियो ? यसको जवाफ दिनुपर्छ।

४) दार्माले हालेका प्रोटेक्स किन दर्ता र सुनुवाइ गरिएन? यसको आधिकारिक जवाफ दिनुपर्छ।

५)जिल्ला खेलकुद समितिको पूर्ण बैठक बसेर आधिकारिक धारणा र नतिजा सार्वजनिक गर्नुपर्छ।

६) दार्मा गाउँपालिका र पालिकाका खेलाडीलाई गरिएको सार्वजनिक अपमानप्रति सार्वजनिक क्षमा माग्नुपर्छ।

७) दार्माका खेलाडीले प्राप्त गरेका मेडल र प्रमाणपत्र जिल्ला खेलकुद समितिका सचिवालय सदस्य शिवराज अधिकारीसंग समन्वय गरेर अनुमतिमा लिएकोले अध्यक्ष खडक आचार्यले लगाएको आरोप आफ्नो गल्ती लुकाउन थप गल्ती गर्दै दोष अर्काको थाप्लोमा थोपरेकोमा घोर आपत्ति छ,यसबारे सत्यतथ्य छानबिन हुनुपर्छ।

८) दार्मा गाउँपालिकाबाट खेलमा सहभागी भएका खेलाडीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (पाँचौँ संशोधन) बमोजिम नरहेको भए प्रमाणसहित पुष्टि गर्नुपर्ने । बिनाकारण लगाइएको आरोप खेदजनक छ।

९) सत्यतथ्य अनुसन्धान गरेर सुचनाको मौलिक हक स्थापित गर्न सम्पूर्ण अधिकारकर्मी र पत्रकार साथीहरूलाई यो बैठक अपिल गर्दछ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस