जेठ २२, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको छ।स्कटल्यान्डको डुन्डीमा हिजो सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य ४७ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका आरिफ शेखले सर्वाधिक ७८ रन बनाएर अर्धशतक पूरा गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए। यस्तै, दीपेन्द्र सिंह ऐरीले ३८ रनको योगदान दिए। बलिङतर्फ नेदरल्यान्ड्सका माइकल लेभिटले २ विकेट लिएका थिए।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा २ सय २५ रन बनाएको थियो। उसका लागि स्कटल्यान्ड नोहा कोर्सले ४८ रनको योगदान दिए।नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे। यसअघि, नेपालले अघिल्लो खेलमा स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको थियो।
हालसम्म नेपालले १४ खेलबाट १० अंक जोड्दै लिगको सातौं स्थानमा रहेको छ। नेदरल्यान्ड्स २१ खेलबाट २६ अंकसहित दोस्रो स्थानमा यथावत् रहेको छ। स्कटल्यान्ड भने १७ खेलमा २० अंकसहित चौथो स्थानमा छ। नेपालले अब यही जेठ २५ गते स्कटल्यान्डसँग र २७ गते पुनः नेदरल्यान्ड्ससँग खेल्नेछ। आठ टोली सहभागी लिग–२ एकदिवसीय विश्वकप २०२७ को छनोट अन्तर्गतको सिरिज हो।
लिगको अन्त्यमा शीर्ष ४ स्थानमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधा प्रवेश पाउनेछ भने तल्लो ४ स्थानमा रहने टोलीले प्लेअफमार्फत छनोट खेल्नुपर्नेछ।












