जेठ २२, काठमाडौं । देशका विभिन्न भूभागमा आज (बिहिबार) हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा भने मुख्यतः सफादेखि आंशिक बदलीको अवस्था रहनेछ।
कोसी प्रदेशका केही स्थान, पहाडी भूभागका थोरै स्थान तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात हुने सम्भावना पनि रहेको विभागले जनाएको छ।
रातिको पूर्वानुमान अनुसार, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा मुख्यतः सफा वा आंशिक बदलीको अवस्था रहनेछ। राति पनि कोसी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना यथावत् रहेको छ।
यस्तै, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
हाल देशको पश्चिम तथा मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय छ भने कोसी प्रदेशका अधिकांश भागमा मनसुनजन्य वायुप्रणालीको प्रभाव देखिएको विभागको भनाइ छ।











