जेठ २३, काठमाडौं । बिहिबार बेलुकादेखि आज बिहानसम्म देशका विभिन्न स्थानहरूमा वर्षा भए पनि अहिले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँहरूमा घाम लागेको छ। देशको पश्चिमी तथा मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ। कोशी प्रदेशका धेरै स्थानहरूमा भने मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो मधेस प्रदेश बाहेक सबै प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो। तर, कुनै स्थानमा बाढी आउने गरी भारी वर्षा हुने सम्भावना भने नरहेको उहाँले बताउनुभयो।
उहाँका अनुसार आजभन्दा भोलि र भोलिभन्दा पर्सि वर्षा क्रमशः घट्दै जानेछ। महाशाखाका अनुसार १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, र ५० मिलिमिटरभन्दा बढी तर १०० मिलिमिटरभन्दा कमको वर्षालाई भारी वर्षा मानिन्छ।










