दाङ, असार २ । आन्तरिक पर्यटन प्रवर्द्धन अभियानअन्तर्गत “जाउ है पोखरा” भन्ने नाराका साथ पोखराबाट आएको पर्यटन व्यवसायीहरूको टोली आज सोमबार दाङ आइपुगेको छ। होटल संघ पोखराको नेतृत्वमा आएको सो टोलीले दाङमा पर्यटन व्यवसायीहरूसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा तथा उद्योग तथा यातायात मन्त्रालयका प्रमुख प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डि.सी. विशेष अतिथिका रूपमा सहभागी हनुभएकाे थियाे । साथै, जिल्लाका होटल व्यवसायी, जनप्रतिनिधि तथा पत्रकारहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’का रूपमा घोषणा गरेसँगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न होटल संघ पोखराले विभिन्न सहरमा प्रचार–प्रसार अभियान सञ्चालन गरिरहेको छ।

होटल संघ पोखराका अध्यक्ष सुवेदीका अनुसार संघले २२ वर्षअघि शुरु गरेको अभियानका कारण धेरै पर्यटन व्यवसायीलाई पलायन हुनबाट रोकिएको छ। उनका अनुसार १२ वर्षे सशस्त्र द्वन्द्व, नाकाबन्दी र कोभिड महामारीले असर पारेको पोखराको पर्यटन क्षेत्रलाई पुनः जीवन्त बनाउने लक्ष्यसाथ नेपालका विभिन्न सहरदेखि भारतसम्म अभियान चलाइएको हो।

अध्यक्ष सुवेदीले पोखरामा हाल १,२०० भन्दा बढी होटल व्यवसायी रहेको र एकैदिन ४०,००० पर्यटकलाई सेवा दिन सक्ने क्षमता रहेको जानकारी दिनुभयाे। पोखरा र लुम्बिनीलाई आपसी पर्यटन कनेक्सनमार्फत जोड्न सके दुवै सहरका व्यवसायी लाभान्वित हुने उनको भनाइ थियो।

२० सदस्यीय टोलीले बुटवल, नेपालगञ्ज, सुर्खेत हुँदै दाङसम्मको भ्रमण गरिरहेको छ। टोलीले अन्य सहरमा पनि यस्तै प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस