लमही, असार ०४ । लमही नगरपालिकाले आफ्नो क्षेत्रभित्र नदीजन्य पदार्थ (जस्तै: गिट्टी, बालुवा) को उत्खनन तथा संकलनमा पारदर्शिता र नियमन सुनिश्चित गर्न नापजाँच प्रक्रिया सुरु गरेको छ। विशेषगरी, नदीजन्य पदार्थ उत्खननको अनुमति लिएका क्रसर कम्पनीहरूले तोकिएको सीमाभन्दा बढी मात्रामा संकलन गरेका छन् वा छैनन् भन्ने यकिन गर्न नगरपालिका सक्रिय बनेको हो।
नगर प्रमुख जोगराज चौधरीले क्रसर कम्पनीहरूले संकलन गर्ने गिट्टी–बालुवाको यथार्थ परिमाण थाहा पाउन र सम्भावित अनियमितता नियन्त्रण गर्न पालिकाले निगरानी कार्य अघि बढाएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यदि कसैले अनुमति पाएकोभन्दा बढी मात्रामा संकलन गरेको प्रमाणित भयो भने, कानूनअनुसार राजस्व असुली गरिनेछ।”
यस कार्यका लागि गठित टोलीमा लमही नगरपालिका–१ का वडा अध्यक्ष दामोदर पौडेल, वडा नं. ३ का अध्यक्ष मनोज कुमार चौधरी र इन्जिनियर सौगात वली सहभागी हुनुहुन्थ्यो। उक्त टोलीले विभिन्न स्थानमा गई वस्तुस्थितिको नापजाँच गरेको हो।
                
		











