काठमाडौँ, असार ४ – पछिल्लो १२ घण्टामा नवलपरासी पूर्वको डण्डामा ११६ मिलिमिटर वर्षा मापन भएको छ। यो पछिल्लो समयकै सबैभन्दा धेरै वर्षा हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनमा १००.४ मिलिमिटर र डोटीमा ९१.२ मिलिमिटर पानी परेको छ। महाशाखाले ती क्षेत्र र आसपासका नदी–खोलामा जलसतह बढ्ने सम्भावनासँगै बाढी र पहिरोको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै ठाउँमा गएराति पनि वर्षा भएको हो। अहिले पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ भने दिउँसो ती प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने अनुमान गरिएको छ।
हाल कोशीदेखि लुम्बिनी प्रदेशसम्म मनसुनी वायु सक्रिय रहे पनि देशको पश्चिम क्षेत्रमा मनसुन अझै प्रवेश नगरेको मौसमविद् गोविन्द झा बताउँछन्। पश्चिममा पानी पर्ने क्रम भने जारी रहेको उनले बताए।
महाशाखाका अनुसार ५०–१०० मिलिमिटरलाई भारी, १००–२०० मिलिमिटरलाई धेरै भारी र २०० भन्दा माथिलाई अति भारी वर्षा मानिन्छ।












