काठमाडौँ, असार ७ । देशका धेरै ठाउँमा रातभर झरी परेकोमा अहिले भने वर्षा केही कम भएको छ। विशेषगरी मकवानपुरमा राति ठूलो वर्षा भएको थियो।
हाल देशका कुनै ठाउँमा ठूलो बाढी आउने गरी अत्यधिक वर्षा नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
लगातारको झरी तथा भारी वर्षाका कारण नदी, खोला तथा तटीय क्षेत्रहरूमा बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यस वर्षको मनसुन गत जेठ १५ गते राति कोशी प्रदेशबाट प्रवेश गरेको थियो भने हिजोदेखि यो देशभर फैलिएको छ।












