घोराही, असार ९ । गुर्जे फुटबल क्लब, घोराही–१२ द्वारा आयोजना गरिएको जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगितामा नेपाल पुलिस स्कूल घोराही, दाङले प्रथम स्थान प्राप्त गरेको छ। शनिबार हापुरको बिजौरीस्थित फुटबल मैदानमा भएको फाइनल खेलमा नेपाल पुलिस स्कूलले सिद्धार्थ एकेडेमी, घोराहीलाई २–० ले हराउँदै उपाधि जितेको हो। पहिलो हाफ बराबरीमा रहे पनि दोस्रो हाफमा अविनाश भट्ट र देव बहादुर ओलीले एक–एक गोल गरे। प्रतियोगितामा २०८१ सालको एसइईमा सहभागी विद्यार्थीहरू समेत सहभागी थिए र जम्मा ५१ टिमले भाग लिएको थियो।

नेपाल पुलिस स्कूल घोराहीले पहिलो खेलमा मावि रझेना विरुद्ध ६–०, दोस्रो खेलमा नवज्योति स्कूल विरुद्ध ३–२, क्वाटर फाइनलमा ज्ञानज्योति स्कूल, तुलसीपुर विरुद्ध ७–०, र सेमिफाइनलमा रमना पाठशाला विरुद्ध ३–० को परिणामसहित विजयी भयो।

प्रतियोगितामा नेपाल पुलिस स्कूलका खेलाडीहरू हेमराज वि.क. उत्कृष्ट डिफेन्डर, नवराज बस्नेत उत्कृष्ट गोलरक्षक, जीवन बुढाथोकी सर्वाधिक गोलकर्ता तथा मनजित सदा उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस