काठमाण्डाै, असार १४ । सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा रातिदेखि लगातार वर्षा भइरहेको छ। दार्चुला, डोटी र बाजुरा जिल्लामा पहिरो र आकस्मिक बहावको जोखिम देखिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। गोकुलेश्वर (दार्चुला), पश्चिम सेती (डोटी) र ओलेना क्षेत्र (बाजुरा) मा हल्कादेखि मध्यम वर्षा मापन भएको छ, जसका कारण साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। यस्तै, कास्कीको लुम्ले क्षेत्रमा पनि राति भारी वर्षा भएकाले आसपासका ससाना खोलानालाहरूमा विशेष सतर्कता अपनाउन भनिएको छ।

राति नुवाकोट, सिन्धुपाल्चोक, दोलखा लगायतका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ भने सुदूरपश्चिमका विभिन्न स्थानहरूमा बिहानपख पनि वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुकीदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान गर्दै मनसुन विशेष बुलेटिनमार्फत सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि सोमबार बिहानसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ। सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, नदी तथा खोलानालाहरूको सतह बढ्न सक्ने, साथै जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले पूर्वतयारीसहित सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस