दाङ , असार २१ । “आर्थिक सहयोगको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने नारासहित गढवा गाउँपालिकाले गरिबी निवारणका लागि सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत स्थानीय उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गरेको छ। गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न उद्यमीहरूलाई व्यवसाय अनुकूल उपकरण वितरण गरिएको हो। गढवा–८ का चार जना होटल व्यवसायीलाई डी–फ्रिजर, माइक्रोवेभ ओभन, ग्यास चुल्हो र मिक्सर प्रदान गरिएको छ। त्यस्तै, वडा नम्बर ४ र ५ का एक–एक जना महिला उद्यमीलाई सिलाई–कटाई व्यवसायका लागि विद्युतीय सिलाई मेसिन हस्तान्तरण गरिएको हो।
वडा नम्बर १ मा रहेको सयपत्री दुना–टपरी समूहका सदस्यहरूलाई पात टिप्न सहज होस् भनेर भर्याङ पनि वितरण गरिएको छ।
कार्यक्रमको अध्यक्षता गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदाकुमारी चौधरीले गर्नुभयो। कार्यक्रममा बोल्दै उहाँले, “गाउँपालिकाले उद्यमशील महिलालाई सीप, प्रविधि र प्रेरणादायी वातावरण दिन निरन्तर प्रयास गरिरहेको छ,” भन्दै प्राप्त प्रविधिको सही सदुपयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
प्रशासन शाखा प्रमुख पुनराम शर्माले प्रविधिको प्रयोगले उत्पादनमा गुणात्मक सुधार आउने र उद्यमीहरू आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनु भयाे।
कार्यक्रमको सञ्चालन उद्यम विकास शाखाकी सहजकर्ता बिनो भुजेलले गर्नुभएको थियो। गाउँपालिकाले कार्यक्रमको प्रभाव मूल्याङ्कनका लागि केही महिनापछि अनुगमन गर्ने जानकारी पनि दिएको छ।

