घोराही, असार २९ । लुम्बिनी प्रदेशमा प्रत्येक वर्ष आन्तरिक हवाई उडानमा गिरावट आएको देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला तीन वर्षमा आन्तरिक उडान र यात्रुको संख्या दुवै घट्दै गएको छ। प्रदेशभित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै बाँके, दाङ र गुल्मीमा एक/एक वटा गरी चारवटा विमानस्थल सञ्चालनमा छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२४ मा २९७ अन्तर्राष्ट्रिय उडानमार्फत ९ हजार ८९ यात्रुले यात्रा गरेका थिए। उक्त वर्षको अक्टोबरमा कुनै पनि अन्तर्राष्ट्रिय उडान नभएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। तर नोभेम्बर महिनामा भने सबैभन्दा धेरै १४२ उडान भएका थिए।

त्यस्तै, सन् २०२४ मै १० हजार ५२० आन्तरिक उडानमार्फत ६ लाख १० हजार ४३७ यात्रुहरूले सेवा लिएका छन्। सन् २०२२, २०२३ र २०२४ का तथ्यांकहरूको तुलनाले अन्तर्राष्ट्रिय उडान बढेको देखिए पनि आन्तरिक उडान तथा यात्रु संख्यामा भने क्रमिक गिरावट आएको छ।

गौतमबुद्ध विमानस्थलमा सन् २०२३ मा ६९ अन्तर्राष्ट्रिय उडान भएका थिए, जुन संख्या सन् २०२४ मा २५७ मा पुगेको छ। तर आन्तरिकतर्फ सन् २०२२ मा १२ हजार ६४०, २०२३ मा ९ हजार ६२० र २०२४ मा १० हजार ५२० उडान भएका छन्। नेपालगञ्ज विमानस्थल (बाँके) बाट सन् २०२२ मा १६ हजार ३३०, सन् २०२३ मा १२ हजार ८३१ र २०२४ मा १२ हजार ५५० उडान भएका छन्।

यस्तै, तुलसीपुर (दाङ) विमानस्थलमा सन् २०२२ मा ३१०, २०२३ मा २१४ र सन् २०२४ मा १४२ उडान भएका छन्। रेसुङ्गा विमानस्थल (गुल्मी) मा भने सन् २०२३ मा मात्र २४ उडान भएको मन्त्रालयको अभिलेखमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस