काठमाडौं, असार ३२ । मनसुनको न्यूनचापीय प्रणाली सक्रिय भएसँगै देशका विभिन्न भागमा वर्षा शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षाको क्रम भोलिदेखि थप बढ्ने सम्भावना छ।
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको विभागले जनाएको छ।
आज राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। ठूला तथा साना नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। पछिल्ला दिनहरूमा पर्याप्त वर्षा नहुँदा मधेशमा रोपाइँ प्रभावित हुँदै आएकोमा, पानी पर्ने क्रम सुरु भएसँगै रोपाइँ सहज हुने अपेक्षा गरिएको छ।












