रोल्पा, साउन १३ । रोल्पामा पहिलोपटक एसियाली स्तरको बालसाहित्य सम्मेलन आयोजना हुने भएको छ। आगामी मंसिर १८ र १९ गते, रोल्पाको लिबाङमा हुने यो सम्मेलनले बालसाहित्यको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
सम्मेलनको आयोजना नेपाल बालसाहित्य समाज, काठमाडौंले गर्ने भएको हो। यसअघि सम्मेलनहरू राष्ट्रिय स्तरमै सीमित रहँदै आएका थिए, तर यसपटक भारत, बंगलादेशसहित एसियाका विभिन्न देशका लेखकहरूको सहभागिता रहने समाजका अध्यक्ष विजयराज आचार्यले जानकारी दिनुभएको छ।
कार्यक्रममा कथा, कविता, निबन्ध, चित्रकला, अभिनय, बालसमीक्षा लेखन, कथा वाचन र नृत्यजस्ता विधामा प्रशिक्षण दिइनेछ। साथै, पुस्तक विमोचन, विचार–विमर्श, प्रदर्शनी, कार्यपत्र प्रस्तुती, रचना वाचन र पुरस्कार वितरणजस्ता विविध गतिविधि पनि गरिने छन्।
सम्मेलन सफल बनाउन जिल्लास्तरीय मूल आयोजक समिति गठन गरिएको छ। डी.बी. टुहुरो संयोजक, नवीन लोचन मगर सह–संयोजक, र कविता उपाध्याय सदस्य–सचिव रहेका छन्।
अर्थ, आवास, अतिथि सत्कार, सञ्चार, यातायात, सांस्कृतिक प्रस्तुतिसमेत १४ वटा उपसमिति गठन गरिएको छ।
रोल्पाका साहित्यकार गोकर्णप्रसाद पुनले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने जिम्मेवारी पाउनुभएको छ। अझ प्रभावकारी बनाउन १७ सदस्यीय सचिवालय समिति पनि गठन गरिएको आयोजकले जनाएकाे छ।

