घाेराही, १५ चैत । घाेराही उपमहानगरपालिका १५ स्थित नमुना बहुभाषिक शिक्षालयले २ दिने गुरु ग्रेभिटी तालिम सम्पन्न गरेकाे छ ।
शैक्षिक सत्र २०८२ देखि सञ्चालनमा आउन लागेको नमुना बहुभाषिक शिक्षालयले आफ्ना शिक्षकहरुका लागि उक्त तालिम सञ्चालन गरेकाे हाे । सेवा प्रवेश पूर्व शिक्षकहरुकाे क्षमता अभिबृद्धिका लागि तालिम दिइएकाे शिक्षालयका प्रमुख बिष्णु हमालले जानकारी दिनुभयाे ।
शिक्षालयका अध्यक्ष गणेश कुमार घर्ती मगरकाे अध्यक्षता एवम् प्याब्सन दाङका सचिव आदिम केसीकाे प्रमुख आतिथ्यता तथा प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे विशिष्ट आतिथ्यतामा तालिम सम्पन्न भएकाे थियाे । उक्त अवसरमा बाेल्दै प्याब्सन दाङका सचिव आदिम केसीले नयाँ योजना र भिजनका साथ सुरु भएको नमुना बहुभाषिक शिक्षालयको भविष्य उज्ज्वल रहेकाे बताउनुभयाे ।
चैत्र १३ र १४ गते २ दिनसम्म सञ्चालित उक्त तालिमकाे पहिलो दिन उदघाटन सत्रको कार्यक्रम शिक्षालयमा र दोस्रो दिनको कार्यक्रम होटल पाैवामा सञ्चालन गरिएको थियोे । तालिममा १२ जना शिक्षक तथा कर्मचारीहरुकाे सहभागीता रहेकाे थियाे । तालिम समापनका अवसरमा प्रशिक्षार्थीका तर्फबाट शिक्षक सरिता घर्तीले आफ्ना धारणा राख्नुभएको थियाे ।
उक्त तालिमका प्रशिक्षकमा भक्तराज रसाइली रहनुभएकाे थियाे भने तालिमकाे सहजिकरण शिक्षालयका प्रमुख बिष्णु हमालले गर्नुभएको थियाे ।












