चन्द्र प्रकाश नेपाली
घोराही, ८ वैशाख । त्रिभुवननगर जेसीज घोराहीले जेसीज सप्ताह–२०२५ को तेस्रो दिन भ्याट ट्याक्स सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहको तेस्रो दिन सोमबार घोराही १५ स्थित त्रिभुवननगर जेसीजको आफ्नै हलमा व्यवसायी, विद्यार्थीलगायत सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियाे ।
त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्वर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्य एवम् आन्तरिक राजस्व कार्यालय दाङका कर अधिकृत ओपेन्द्र पुनको विशिष्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम गरिएको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेले भ्याट ट्याक्सको ज्ञान सबै व्यवसायी र नागरिकले लिन जरुरी रहेकाे बताउनुभयो। यस्ता सचेतनामूलक कार्यक्रमहरूले कर प्रणालीप्रतिको विश्वास बढाउने भन्दै त्रिभुवननगर जेसीजको प्रयास प्रशंसनीय रहेको बताउनुभयो। साथै उहाँले कार्यक्रममा व्यवसायीहरूको सहभागिता न्यून भएको प्रति ध्यान केन्द्रित गर्दै यस्ता कार्यक्रमहरूमा व्यवसायीहरू आफै चनाखो भएर सहभागी हुन आवश्यक रहेको बताउनुभएको थियो । विशिष्ट अतिथि कर अधिकृत पुनले सरकारको आम्दानीको मुख्य स्रोत कर भएको भन्दै भ्याट प्रणाली पारदर्शिता र उत्तरदायित्वको प्रतीक भएको बताउनुभयो। करदाताहरूलाई जानकारी दिने यस्ता कार्यक्रम निरन्तर चल्नुपर्ने उहाँको धारणा रहेको थियो ।
कार्यक्रममा भ्याट ट्याक्स सम्बन्धि सचेतना कक्षा सीए दिपक सेठिले गर्नुभएको थियो । सीए सेठीले भ्याट ट्याक्स सम्बन्धी जानकारी नहुँदा धेरैले अनावश्यक जरिवाना भोग्नुपरेको भन्दै व्यवसायीहरूले बिलिङ प्रणालीमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले कर सम्बन्धी भ्रम, करमा ख्याल गर्नुपर्ने नीति, आफूले गर्ने व्यवसायमा कति कर लाग्छ व्यवसाय दर्ता गरिसकेपछि के गर्ने जस्ता विषयहरुमा सहभागीहरुलाई प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नारायण भुसालले सचेत व्यवसायी नै सफल व्यवसायी भएको भन्दै करको नियमबारे जानकारी लिँदा व्यवसाय सञ्चालनमा पारदर्शिता आउने बताउनुभयो ।
कार्यक्रममा नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, प्रेस चौतारी दाङका कोषाध्यक्ष चन्द्रप्रकाश नेपालीलगायतको उपस्थिती रहेको थियो । विवेक देवकोटाको जेसीज आस्थापाठ, श्यामकुमार गिरीको जेसीज मिसन तथा भिजन प्रस्तुती र तेस्रो दिनको कार्यक्रम संयोजक गणेश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक बाबुराम पाण्डेयले सप्ताहका गतिविधिबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव कृष्णदेव थापा मगरले गर्नुभएको थियो ।
यस्तै मंगलबार चौथो दिन स्थानीय सरकारसँग जेसीज अन्तरक्रिया कार्यक्रम गरिने मूल संयोजक बाबुराम पाण्डेले जानकारी दिनुभएको छ । जसमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीसँग कफि टक गरिने छ । कार्यक्रम मध्यान्न १२ बजेर १५ मिनेटबाट सुरु गर्ने तय भएको छ भने कार्यक्रम त्रिभुवन नगर जेसिजको सचिवालयमै आयोजना गरिने उहाँले जानकारी दिनुभएको छ ।
यसैगरी, पाचौँ दिनको कार्यक्रम अन्तर्गत ११ गते विहिबार जलवायु संरक्षणमा जेसीजको प्रयास सम्बन्धी अन्तरक्रिया, छैठाैँ दिनको कार्यक्रम अन्तर्गत १२ व्यवसायीहरूसँग अन्तरक्रिया र सातौँ दिन साहित्यिक प्रस्तुतिसहित सप्ताह समापन गर्ने कार्यक्रमहरू तय गरिएको कार्यक्रमका मूल संयोजक पाण्डेले जानकारी दिनुभयो ॥












