महेश बस्नेत
घाेराही, ११ बैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले सेवा निवृत्त हुनुभएका घाेराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख नारायण प्रसाद पाैडेललाई सम्मान गरेकाे छ । बिहिवार बिदाइ तथा शुभकामना कार्यक्रममार्फत सेवा निवृत्त पाैडेललाई प्याब्सन घाेराहीले मायाकाे चिनाे प्रदान गरि सम्मान गरेकाे छ ।

प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपानेकाे प्रमुख आतिथ्यतामा आयाेजित कार्यक्रममा प्रमुख अतिथि न्याैपानेले सेवा निवृत्त पाैडेलले आफ्नाे कार्यकालमा निर्वाह गरेकाे भूमिकाकाे चर्चा गर्नुभएकाे थियाे । न्याैपानेले पाैडेलले शिक्षा क्षेत्रकाे विकासका लागि पारदर्शी, निश्पक्ष र प्रभावकारी भूमिका निर्वाह गर्नुभएकाे बताउनुभयाे । उहाँले शिक्षालाई गुणस्तरीय बनाउन सामुदायिक र निजी विद्यालयलाई समन्वयात्मक तवरले अगाडि बढाउनु भएकोमा पाैडेलकाे याेगदानकाे प्रशंसा गर्नुभयाे ।

कार्यक्रममा सेवा निवृत्त पाैडेलले आफ्ना जीवन भाेगाइ र कार्यसम्पादनका विषयमा अनुभव व्यक्त गर्नुभएको थियाे । उक्त अवसरमा बाेल्दै पाैडेलले शिक्षामा सुधार र शैक्षिक गुणस्तर बृद्धिमा आफ्नाे ध्येय रहेकाे बताउँदै निजी विद्यालयकाे साथ र सहयाेगप्रति आभार व्यक्त गर्नुभयाे । उहाँले प्याब्सनका साथीहरूबाट सामाजिक विकास महाशाखालाई हरेक कार्यमा सहयाेग प्राप्त भएकाेमा आगामी दिनहरुमा पनि महाशाखासँग सहकार्य गर्न आग्रह गर्नुभयाे । युवा विदेश पलाएनकाे श्रृङखलालाई ताेड्न निजी विद्यालयहरुले राेजगारकाे अवसर प्रदान गरेकाे याेगदान बिर्सन नसकिने पाैडेलले उल्लेख गर्नुभयाे ।

प्याब्सन दाङका वरिष्ठ सल्लाहकार केशव थापाकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण नगर सचिव विमल भण्डारीले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस