भरत वली
जेठ १७, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, भने डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य बढाइएको हो।
नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
यसैबीच, हवाई इन्धनको मूल्य भने घटाइएको छ। निगमका अनुसार आन्तरिक उडानका लागि हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलोलिटर २२ अमेरिकी डलरले मूल्य घटाइएको छ।
नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५९ रुपैयाँ हुनेछ। सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५८ रुपैयाँ रहनेछ।
त्यस्तै, चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
डिजेल र मट्टितेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १४३ रुपैयाँ, सुर्खेत र दाङमा १४२ रुपैयाँ र चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी तथा वीरगञ्जमा १४० रुपैयाँ ५० पैसा तोकिएको छ।













