काठमाडौं, १९ जेठ । गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको राइड सेयरिङ नियमावलीविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ। सोमबार गृह मन्त्रालयमा बसेको बैठकमा सहमति नजुटेपछि वार्ता भोलि (मंगलबार) बिहान साढे १० बजे पुनः बस्ने तय भएको छ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार, व्यवसायीहरूको मुख्य माग भनेको गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावली तत्काल स्थगित गर्नु हो। उनीहरू संघीय कानुन बनेपछि त्यसअनुसार नियमावली परिमार्जन गर्नुपर्ने पक्षमा छन्।
स्वाँरले भने, “हाम्रो माग तत्कालका लागि नियमावली स्थगित गर्नु हो। संघीय ऐन बनेपछि त्यसअनुकूल हुने गरी नियमावली तयार गर्नुपर्छ भन्ने हाम्रो प्रस्तावमा कुनै निष्कर्ष निस्किएन। भोलि फेरि वार्ता हुने तय भएको छ।”
यता, यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले सोमबारको छलफललाई सकारात्मक भन्दै पनि निर्णयमा पुग्न नसकिएको बताउनुभयाे । उहाँले भन्नु भयाे “छलफल सकारात्मक भयो, तर सहमति नजुटेकाले भोलि पुनः बैठक बस्ने छ।”
यसबीच, गण्डकी प्रदेशको नियमावलीको विरोधमा देशभरका सार्वजनिक सवारी साधन बन्द गरिएको छ। व्यवसायीहरूले आन्दोलन तिव्र बनाइरहेका छन् भने यात्रुहरू सेवा ठप्प हुँदा मारमा परेका छन्।












