भरत वली

जेठ २०, दाङ ।
सार्वजनिक यातायात व्यवसायीहरूको देशव्यापी आन्दोलनका कारण यातायात बन्दको दोस्रो दिन घोराही बजार वरपरका सार्वजनिक सवारी साधन पूर्ण रूपमा ठप्प भएका छन्। मंगलबार बिहानैदेखि घोराही बसपार्क सुनसान देखिएको छ भने विभिन्न गन्तव्यतर्फ छुट्ने गाडीहरू चल्न सकेका छैनन्।

आज घोराहीको मुख्य बसपार्कमा दर्जनौं गाडीहरू रोकिएका छन् भने यात्रुहरू पैदल यात्रा गरेर आवतजावत गरिरहेका छन्। सार्वजनिक सवारी साधनको अभावमा यात्रुहरू गन्तव्य पुग्न कठिनाइ भोग्न बाध्य भएका छन्। अन्य बजार क्षेत्रहरूमा केही निजी मोटरसाइकल, एम्बुलेन्स, विद्यालय बस, सञ्चार संस्था (प्रेस) का सवारी, दमकल तथा पानी ट्याङ्करहरू मात्रै न्यून संख्यामा सञ्चालनमा देखिएका छन्।

यातायात व्यवसायीहरू प्रदेश सरकारले ल्याउन लागेको निजी सवारीलाई यात्रुबाहकका रूपमा प्रयोग गर्न दिने नियमावलीविरुद्ध आन्दोलनमा उत्रिएका हुन्। उनीहरूको भनाइमा, सो नियमावलीले संविधानविपरीत निजी गाडीलाई सार्वजनिक सवारीका रूपमा प्रयोग गर्ने बाटो खोल्छ, जसले दीर्घकालीन लगानीमा आधारित सार्वजनिक गाडीहरूको विस्थापनको जोखिम निम्त्याउँछ।

व्यवसायीहरूले गण्डकी प्रदेशले ल्याएको ‘राइड सेयरिङ नियमावली’ अन्तर्गत रातो नम्बर प्लेट भएका गाडीहरूलाई पनि यात्रु ओसार्न अनुमति दिने निर्णय तत्काल स्थगन गर्न माग गरेका छन्। सोमबार साँझ प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश सरकारलाई निर्णय स्थगन गर्न पत्राचार गर्ने सहमति भए पनि कार्यान्वयन नहुनुका कारण आन्दोलन यथावत रहेको व्यवसायीहरूको भनाइ छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार, जबसम्म गण्डकी प्रदेश सरकारले औपचारिक रूपमा निर्णय गरेर नियमावली स्थगन गर्दैन, तबसम्म बन्द फिर्ता नहुने स्पष्ट पारेका छन्।

यसैबीच, स्थानीय व्यवसायी तथा सर्वसाधारण भने लामो समयसम्म यातायात सेवा अवरुद्ध हुँदा समस्या भोग्न बाध्य भएका छन्। आम नागरिकले सरकार र व्यवसायीबीचको विवाद चाँडो समाधान होस् भन्ने अपेक्षा राखेका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस