काठमाडौँ, जेठ २० । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनमा सीमित स्रोतसाधनका कारण अपेक्षित रूपमा उद्धार तथा राहत कार्य गर्न कठिन रहेको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता एवं उपसचिव रामबहादुर केसीले जोखिम न्यूनीकरणका लागि आवश्यक उपकरण तयारी अवस्थामा राखिए पनि पर्याप्त संख्यामा नभएकाले विपद्पछिको उद्धार तथा राहत कार्यमा समस्या आउन सक्ने बताएका हुन्। तर, सीमित स्रोतसाधनलाई अधिकतम प्रयोग गरेर कार्य अघि बढाउने योजना रहेको उनको भनाइ छ।

प्रवक्ता केसीका अनुसार खोज, उद्धार र राहत कार्यमा प्रयोग हुने प्रविधि, उपकरण तथा जनशक्तिको अभाव तत्काल समाधान गर्नु आवश्यक छ।

सरकारले मनसुनजन्य विपद् न्यूनीकरणका लागि नेपाली सेनाबाहेक १७ हजार ७ सय जनशक्ति परिचालन गर्ने योजना बनाएको छ। प्राधिकरणका अनुसार नेपाल प्रहरीबाट १० हजार ८५ र सशस्त्र प्रहरी बलबाट ७ हजार ६१५ जनशक्ति तयारी अवस्थामा राखिएको छ। नेपाली सेनाले पनि सोहीअनुसार जनशक्ति तयारी अवस्थामा राखेको स्पष्ट पारिएको छ।

प्राधिकरणका तथ्याङ्कअनुसार, पछिल्लो १० वर्षमा देशभर ८ हजार ४१८ विपद्जन्य घटनाहरू भएका छन्। ती घटनामा २ हजार ३१७ जनाले ज्यान गुमाएका छन् भने ४१९ जना अझै बेपत्ता छन्। यसबाहेक २ हजार ६४९ जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस