जेठ २३, रामेछाप । खेतबारीमा लगाइएको मकैबालीमा फौजी कीराको प्रकोप देखिएपछि रामेछापका किसानहरू चिन्तित भएका छन्। प्रारम्भमा पात खान थालेको फौजी कीराले अहिले मकैको गुबोसम्म नष्ट गर्न थालेको छ। गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा लाग्ने सुत्ला समेत कीराका कारण निस्कन नसकेको किसानहरू बताउँछन्। निस्किहाले पनि धानचमरा विकास नहुने, घोगा नलाग्ने, र पातसमेत पूर्ण रूपमा नष्ट हुनेजस्ता समस्या देखिएका छन्।
रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगङ्गा, खाँडादेवी गाउँपालिका लगायतका विभिन्न पालिकामा लगाइएका मकैबालीमा फौजी कीराको व्यापक असर परेको छ। मन्थली नगरपालिका–७ की किसान सरिता ढुङ्गेलका अनुसार, समयमै नियन्त्रण नभए मकैबाली पूरै सखाप हुने खतरा छ।
नगरपालिकाको कृषि विकास शाखाका प्रमुख कृष्ण भुजेलले पनि फौजी कीराको प्रकोपबारे जानकारी आएको र पालिकामार्फत नियन्त्रणका लागि प्रयास भइरहेको बताउनुभयो। तर, नियन्त्रणमा ल्याउन चुनौतीपूर्ण अवस्था रहेको उहाँको भनाइ छ।












