दाङ, जेठ २७ । दाङ जिल्लाको घोराही उपमहानगरपालिकाले मंगलबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको १७ औं नगरसभाका अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सार्वजनिक नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दै नगरको समग्र विकास विशेषगरी कृषि, सिंचाइ, पशुपालन, माछापालन, जैविक खेती, बजार पहुँच, प्रविधिको प्रयोग तथा रोजगारी सिर्जनामा केन्द्रित रहने जानकारी दिनुभयो।

नगर प्रमुख चौधरीका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रम कृषि योग्य भूमिको अधिकतम उपयोग, उन्नत बीउ उत्पादन र वितरण, भरपर्दो सिंचाइ व्यवस्थाको विकास, र पशुपालन तथा माछापालन क्षेत्रको विस्तारमा प्राथमिकता दिइने गरी तयार गरिएको छ। साथै, प्राङ्गारिक तथा वातावरणमैत्री खेती प्रणालीलाई प्रोत्साहन दिइनेछ भने कृषकलाई आधुनिक प्रविधिमार्फत कृषि ज्ञान तथा सेवामा सहज पहुँच पुर्‍याउने योजनाहरू समेत समेटिएका छन्।

नीति तथा कार्यक्रममा जलस्रोतको व्यवस्थापन र भरपर्दो सिंचाइ सुविधा सुनिश्चित गर्न विशेष ध्यान दिइएको छ। सिमसार तथा अन्य प्राकृतिक जलस्रोतहरूको संरक्षणसहित बहुउद्देश्यीय जलाशय निर्माण, डिपबोरिङ, स्यालो ट्युबवेल र लिफ्ट सिंचाइ प्रणालीको प्रवर्द्धन गरिनेछ। यस्तै, उत्पादन क्षमताका आधारमा विभिन्न वडाहरूलाई बाली विशेष पकेट क्षेत्रका रूपमा विकास गरिने र बीउमा आत्मनिर्भरता कायम गर्ने उद्देश्यसहित बीउ स्रोत केन्द्रहरूको सुदृढीकरण गरी स्थानीय स्तरमै गुणस्तरीय मूल बीउ उत्पादनमा जोड दिइनेछ।

त्यस्तैगरी, बाँझो जमिनलाई कृषिमा उपयोग गर्न “भूमि बैंक” नीति लागू गरिने बताइएको छ। कृषि उत्पादनलाई बजारीकरण गर्न हाटबजार व्यवस्थापन, कृषि सहकारी संस्थाहरूको सुदृढीकरण, प्रविधिमा पहुँच विस्तार तथा डिजिटल सेवा प्रणालीको विकासमा समेत जोड दिइने योजना छ। यसै सन्दर्भमा, ‘घोराही कृषि मोबाइल एप’ को पहुँच कृषकहरूसम्म पुर्‍याउने, कृषि सल्लाह, सूचना र सेवाहरू मोबाइल एपमार्फत उपलब्ध गराउने कार्यहरू अगाडि बढाइनेछ।

यसैगरी, खाद्यान्न सुरक्षाका लागि आवश्यक तेलहन, दलहन, मसला तथा तरकारी बालीहरूको प्रवर्द्धन गरिनेछ। यस्ता बालीहरूको उत्पादन बढाउन बीउमा दिइने अनुदानलाई निरन्तरता दिइनेछ। साथै, परम्परागत तथा रैथाने बालीहरूको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

यसरी, आगामी वर्षका लागि तयार पारिएको नीति तथा कार्यक्रमले घोराही उपमहानगरपालिका भित्रको कृषि क्षेत्रलाई समृद्ध बनाउँदै, आत्मनिर्भरता, नवप्रवर्तन र दिगोपनतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस