दाङ, जेठ २७ । दाङको घोराहीस्थित कारागारमा दिसाजन्य फोहोर प्रयोग गरेर बायोग्यास उत्पादन सुरु गरिएको छ। पछिल्लो समय फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा यसलाई समाधान गर्न बायोग्यास उत्पादन थालिएको कारागार कार्यालय घोराहीका प्रमुख लक्ष्मणसिंह राठौरले जानकारी दिनुभयो।
५० घनमिटर क्षमताको उक्त बायोग्यास प्लान्टबाट हाल करिब ८० जना कैदीका लागि खाना पकाउन उपयोग भइरहेको कारागार कार्यालयले जनाएको छ। यद्यपि हाल उपलब्ध फोहोर परिमाण पर्याप्त नभएकोले गोबर र अन्य जैविक सामग्री समेत मिसाएर ग्यास उत्पादन भइरहेको छ।
कारागार प्रमुख राठौरका अनुसार, बायोग्यास उत्पादनबाट एकातर्फ एलपी ग्यासको खपतमा कमी आएको छ भने अर्कोतर्फ दिसाजन्य फोहोरको समेत व्यवस्थापन सहज भएको छ। “फोहोर व्यवस्थापनका लागि यो एक राम्रो अभ्यास हो। यसले पर्यावरण संरक्षणमा पनि टेवा पुर्याउँछ,” उहाँले बताउनुभयो।
हाल घोराही कारागारमा ४२७ जना कैदीबन्दी रहेका छन्। बायोग्यास प्लान्ट निर्माणमा संलग्न प्रतिनिधि हरिशरण श्रेष्ठले दिसाजन्य फोहोर व्यवस्थापनमा बायोग्यास प्रविधि निकै प्रभावकारी रहेको उल्लेख गर्नुभयो












