घोराही, २८ जेठ । घोराही उपमहानगरपालिकाले वडा नं. २ अन्तर्गतको बलामपुर गाउँमा घरघरमा खानेपानीको धारा जडान गरी पानीको दीर्घ समस्या समाधान गरेको छ। लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको सशर्त अनुदानबाट सञ्चालन गरिएको खानेपानी आयोजनाको बुधबार नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभयो।

उक्त आयोजनाअन्तर्गत डिपबोरिङमार्फत पानी निकालेर ट्यांकीमा संकलन गरी ९० घरधुरीमा पाइपलाइनमार्फत धारा जडान गरिएको हो। सबै घरमा धारा पुर्‍याइएको घोराही उपमहानगरपालिकाको शहरी विकास पूर्वाधार महाशाखाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले जानकारी दिनुभयो।

कुल ३० लाख रुपैयाँ अनुदानमध्ये २७ लाख ४८ हजार रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो। कार्यक्रममा बलामपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लालबहादुर चौधरीको अध्यक्षता सम्पन्न भएकाे थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले बलामपुरमा वर्षौंदेखि रहँदै आएको पानीको समस्या समाधान भएकोमा खुशी व्यक्त गर्नुभयो। “अब संरक्षण जनताको जिम्मेवारी हो,” भन्दै उहाँले खानेपानी व्यवस्थापनमा जनसहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो।

“पानी नै स्वस्थ जीवनको आधार हो,” भन्नुहुँदै उहाँले जनताको जीवनस्तर सुधार गर्न तीनै तहका सरकार जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो।

उपभोक्ता समितिका अध्यक्ष लालबहादुर चौधरीले अघिसम्म गाउँलेहरू कुवा र जरुवाको भरमा बसेको स्मरण गर्दै, अहिले घरघरमा धारा जडान भएपछि गाउँलेहरू निकै खुसी भएको बताउनुभयो। कार्यक्रमको सहजिकरण सब-इन्जिनियर भरत केसी रहनुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस