जाजरकोट, जेठ ३१ । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।नलगाड नगरपालिका–७, बगराका १९ वर्षीय विनोद परियारको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारी मिसन अस्पतालमा मृत्यु भएको हो।
शुक्रबार नलगाड नगरपालिका–७ खगेनकोटस्थित जाजरकोट–डोल्पा सडक खण्डमा सरिया लोड गरी दल्लीबाट कायाखेत जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका विनोद परियार र १९ वर्षीय जयबहादुर परियारलाई उद्धार गरी प्रारम्भिक उपचारका लागि नगर अस्पताल दल्ली पठाइएको थियो। दल्लीमा प्राथमिक उपचारपछि दुबैलाई चौरजहारी मिसन अस्पताल रुकुमपश्चिममा रिफर गरिएको थियो।
चौरजहारी मिसन अस्पतालमा उपचारका क्रममा चालक विनोद परियारलाई चिकित्सकहरूले मृत घोषणा गरेका हुन्। अर्का घाइते जयबहादुर परियारलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो ।












