असार १ । मगर समुदायको बाहुल्यता रहेको रुकुमपूर्व र रोल्पा जिल्लामा आज परम्परागत भूम्या (नाम्क) पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हरेक वर्ष असार महिनाको पहिलो साता मनाइने यस पर्वमा मगर समुदायले पुर्खाको पूजा–पाठ गर्ने, मौलिक कला, संस्कृति र परम्परा झल्किने विविध कार्यक्रम प्रस्तुत गर्ने गर्छन्।

दशैंको जस्तै निम्तो आदान–प्रदान, खानपान र सामूहिक उत्सवको रूपमा मनाइने भूम्या पर्व १८ मगरात क्षेत्रका मगर समुदायले परापूर्वकालदेखि मनाउँदै आएका महत्वपूर्ण सांस्कृतिक चाडहरूमध्ये एक हो।

नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष मानसिंह विकका अनुसार, भूम्या पर्वका अवसरमा एकीकृत वस्तीको स्वरूप झल्किने रुकुम–रोल्पाका बस्तीहरूमा अन्नबालीको राम्रो उत्पादन, प्राकृतिक विपत्तिबाट मुक्ति, परिवारमा सुस्वास्थ्य र समृद्धिको कामनाका साथ विविध गतिविधि आयोजना गरिन्छ। यस पर्वले समुदायबीच सद्भाव र एकता सुदृढ गर्ने विश्वास गरिन्छ।

भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रुकुम र रोल्पाबासीलाई शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमा उनले लुम्बिनी प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिएको उल्लेख गर्दै भूम्या पर्व रुकुम–रोल्पाली मगर समुदायको मौलिक सांस्कृतिक सम्पदा भएको बताएका छन्।

यसै अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुमपूर्व जिल्लामा बुधबार सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस